बिहीबारदेखि उड्यो वाइडवडी जहाज, न्यारोवडीको इञ्जिन रिप्लेस गरिने

काठमाडौं । नेपाल वायु सेवा निगमले वाइडवडीमा देखिएको समस्या मर्मत गरी नियमित उडानमा गएको जनाएको छ ।

बिहीबार निगमकी प्रवक्ता अर्चना खड्काले विज्ञप्ति जारी गरेर वाइडबडी ए ३३० विमान ९एन–एएलवाईले नियमित उडान गरेको जानकारी दिएकी छिन् ।

काठमाडौं–नारिता आरए–४३३ नियमित उडानको तयारी गर्ने क्रममा विमानमा प्राविधिक समस्या देखिएको थियो ।

विमानको आवश्यक चेकजाँच गर्दा ईलेक्ट्रिक कन्ट्याक्टर म्यानेजमेन्ट युनिट (ईसीएमयू) मा समस्या देखिएको प्रवक्ता खड्काले बताएकी छिन् ।

श्रीलंकाबाट आवश्यक पार्टपुर्जा भित्र्याई निगमका दक्ष ईञ्जिनियरिङ टिमबाट मर्मत गरी बिहीबार दिउँसो २ बजेबाट उडानयोग्य बनाइएको विज्ञप्तिमा उल्लेख छ ।

मर्मतपछि वाइडविमान काठमाडौं–दिल्ली नियमित उडान समेत गरिसकेको प्रवक्ता खड्काले बताएकी छिन् ।

निगमको न्यारोवडी १ ३२० विमान ९एन–एकेडब्लुबाट पुस १३ गते (२८ डिसेम्बर) मा काठमाडौं–दोहा आरए–२३७ नियमित उडानमा सुरक्षित अवतरणपछि पार्किङ गर्ने क्रममा विमानको एउटा इञ्जिनमा प्राविधिक समस्या देखिएको थियो ।

उक्त समस्याको थप निरीक्षण दोहास्थित कतार एयरवेजका इञ्जिनियरिङ टिमले गर्दा वायाँतर्फको इञ्जिनमा इन्टर्नल डिफेक्ट पहिचान भएको प्रवक्ता खड्काले बताएकी छिन् ।

‘उक्त इञ्जिनको उत्पादनकर्ता पीडब्लु/आईएईसँग निगम व्यवस्थापनले आवश्यक परामर्श लिँदा इञ्जिनलाई रिप्लेश गरि रिपेयर गर्न सुझाए बमोजिम विमानलाई यथासक्दो छिटो उडानयोग्य अवस्थामा ल्याउन आवश्यक प्रक्रिया अघि बढाइएको छ’, प्रवक्ता खड्काद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Published : Thursday, 2021 December 30, 5:29 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया