भेरी अस्पतालको क्वाटरमा चार जनाको मृत्यु

नेपालगञ्ज । भेरी अस्पतालको कर्मचारी क्वाटरमा चार जनाको रहस्यमय मृत्यु भएको छ ।

बाँकेको नेपालगञ्जस्थित अस्पतालको स्टोर शाखामा कार्यरत धनप्रसाद भट्टराईसहित उनका परिवार र आफन्तको मृत्यु भएको प्रहरीले जनाएको छ ।

अस्पतालको स्टोर शाखामा कार्यरत कर्मचारी धनप्रसाद भट्टराई, उनका बहिनी अन्दाजी २२ वर्षीया कोली भट्टराई, तीन महिनाका छोरा इप्सन भट्टराई र सासु अन्दाजी ५५ वर्षीया कोपिला भट्टराईको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिएका छन् ।

प्रमुख जिल्ला अधिकारी खत्रीले भने, ‘चिसोबाट बच्न मकलमा आगो बालेको देखियो । सायद सोही कारणले मृत्यु भएको हुन सक्छ । प्रहरीले अनुसन्धान गरिरहेको छ । रिपोर्ट आएपछि वास्तविकता के हो भन्ने कुरा भन्न सकिन्छ ।’

उनीहरू एउटै कोठामा सुतेका थिए । चिसोमा आगो बालेर सुतेका कारण निसास्सिएर मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

भट्टराईसहित उक्त क्वाटरमा ७ जना रहेका थिए । चार जनाको मृत्यु भएपनि अन्य तीन जना अचेत अवस्थामा फेला परेका थिए ।

तीन जना मध्ये एक जनाको होस खुलेपनि दुई जना अझै अचेत अवस्थामै रहेको खत्रीले बताएका छन् ।

मृतक भट्टराईकी पत्नी, अर्का छोरा र बहिनीको उपचार भेरी अस्पतालमा भइरहेको छ ।

बिहीबार बिहान करीव ६ बजेतिर कोठामा गएर अन्य कर्मचारीले हेर्दा चार जना मृत अवस्थामा फेला परेका थिए ।

बाँकेका प्रहरी प्रमुख(एसपी) श्यामकृष्ण अधिकारीले घटनाको सुक्ष्म रुपले अनुसन्धान सुरु गरिएको जानकारी दिएका छन् ।

Published : Thursday, 2021 December 30, 11:27 am

फेसबुकबाट तपाईको प्रतिक्रिया