कांग्रेस केन्द्रीय सदस्य शेर्पाका पिताको निधन, देउवाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रीय सदस्य आङ्गेलु शेर्पाका पिता नुर्वुवाङ्डा शेर्पाको निधन भएको छ ।

शेर्पाको सोमबार साँझ निधन भएको कांग्रेस केन्द्रीय कार्यालयद्वारा बुधबार जारी शोक वक्तव्यमा उल्लेख छ । स्व.नुर्वुवाङ्डा शेर्पा सोलुखुम्बु कांग्रेसका पुराना नेता हुन् । शेर्पाको निधनप्रति कांग्रेस गहिरो दुःख व्यक्त गरेको छ ।

स्व.शेर्पा नेपाली कांग्रेस जिल्ला कार्यसमिति सोलुखुम्बुको पूर्व सदस्य थिए ।

सोलुदुधकुण्ड नगरपालिका–३ निवासी स्व.शेर्पाले नेपालको प्रजातान्त्रिक आन्दोलनहरूमा सक्रिय भूमिका निर्वाह गरेको कांग्रेसले जनाएको छ ।

‘प्रजातन्त्रप्रति प्रतिवद्ध, सरल, मिलनसार र सहयोगी स्व.शेर्पाको निधनले नेपाली कांग्रेसले एक अनुभवी र अग्रज व्यक्तित्वलाई गुमाएको छ’, कांग्रेसले भनेको छ ।

शेर्पाको निधनप्रति कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गरेका छन् ।

स्व.शेर्पाप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै आत्माको चीर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनप्रति देउवाले गहिरो समवेदना प्रकट गरेका छन् ।

नेपाली कांग्रेस सोलुखुम्बुका सभापति शेर्पाको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

‘नेपाली कांग्रेसका केन्द्रीय सदस्य आङ्गेलु शेर्पाका पिता तथा सोलुखुम्बु कांग्रेसका पुरानो अग्रज नेता, सशस्त्र जनक्रान्तिका मुक्तियोद्ध नुर्वुवाङ्डा शेर्पाको निधन भएको दुखद् खबरले स्तब्ध भएको छु’, सभापति शेर्पाले भनेका छन् ।

‘उहाँको निधनले नेपाली कांग्रेस पार्टीलाई अपुरणीय क्षति भएको छ’, सभापति शेर्पाले भनेका छन्, ‘यस दुखद् घडीमा मृत आत्मप्रति हार्दिक श्रदाञ्जलि अर्पण गर्दै शोककुल परिवारमा गहिरो समबेदना प्रकाट गर्दछु ।’

Published : Wednesday, 2021 December 29, 7:41 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया