तरुण दलद्वारा जिल्ला कार्यसमितिलाई निर्देशनात्मक परिपत्र, आलटाल गरे ठीक नहुने

काठमाडौं । नेपाल तरुण दलले राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा कार्यक्रमहरू गरेर मनाउन सबै जिल्ला कार्यसमितिहरूलाई निर्देशनात्मक परिपत्र गरेको छ ।

नेपाली कांग्रेसको नवनिर्वाचित केन्द्रीय सदस्य एवम् तरुण दलका अध्यक्ष जितजंग बस्नेतले बुधबार परिपत्र गरेर कांग्रेसले गर्ने कार्यक्रममा सहकार्य गर्दै तरुण दलबाट पनि कार्यक्रम गर्न निर्देशन दिएका छन् ।

‘नेपाली कांग्रेस र सिंगो देशको राजनीतिक इतिहाँसमा एउटा स्वर्णिम र ऐतिहाँसिक दिन आगामी पुस १६ गते राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा पार्टीले आयोजना गर्ने कार्यक्रममा सहकार्य गर्दै संगठनका तर्फबाट थप अतिरिक्त रचनात्मक र अन्य कार्यक्रम गर्न गराउनका लागि नेपाल तरुण दल केन्द्रीय समितिको तर्फबाट परिपत्र गरिन्छ’, परित्रपमा अध्यक्ष बस्नेतले भनेका छन् ।

पुस १६ गते कांग्रेसले देशभरि मेलमिलाप दिवस मनाउँदैछ । दिवसलाई भव्य रुपमा मनाउन तरुण दलले आफ्नोतर्फबाट दिर्नेशन जारी गरेको छ ।

‘तपाईहरूले गर्नुभएको कार्यक्रमको विवरण केन्द्रमा जानकारी गर्नका लागि पनि अनुरोध गरिन्छ’, उनले भनेका छन्, ‘नेपाल तरुण दलको वडा इकाई समिति, गाउँपालिका/नगरपालिका समिति, क्षेत्रीय समिति र जिल्लाका अध्यक्ष ज्यूहरू एवम् नेपाल तरुण दलका विभिन्न तह र तप्कामा रहेर जिम्मेवारी निर्वाह गरिराख्नुभएका तरुण साथीहरूले गर्नुभएको साथ, सहयोग र मायाको कारण नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएको छु ।’

‘तपाईहरूले देखाउनुभएको साथ, सहयोग र मायाका लागि तपाईहरू सबैलाई हार्दिक धन्यवाद दिँदै तपाईहरूप्रति हार्दिक आभारी छु’, अध्यक्ष बस्नेतले भनेका छन् ।

‘आगामी दिनमा पनि तपाईहरूको साथ, सहयोग, माया र विश्वासको अपेक्षा गरेको छु’, उनले भनेका छन्, ‘मेरो राजनीतिक जीवनका दुई मूल मर्म निष्ठा र ईमान्दारितालाई सदैव आत्मसाथ गर्दै अघि बढ्ने प्रण पनि गर्दछु ।’

Published : Wednesday, 2021 December 29, 11:42 am

फेसबुकबाट तपाईको प्रतिक्रिया