बाह्रबिसेमा एमाले–राप्रपाका कार्यकर्ता कांग्रेसमा प्रवेश, कम्युनिस्टलाई पत्तासाफ गर्ने तयारी

बाह्रबिसे । नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले आगामी निर्वाचनमा कांग्रेसले बहुमत ल्याउने दाबी गरेका छन् ।

सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका– ८ खिपिङमा राप्रपा र एमालेका स्थानीय नेता कार्यकर्तालाई कांग्रेसमा प्रवेश गराउने क्रममा नेता बस्नेतले कांग्रेसको जित सुनिश्चित रहेको बताए । कम्युनिस्टबाट दिक्क भएका जनताले कांग्रेसको चुनाव चिन्ह ‘रुख’ दिएर विजयी बनाउने बताए ।

पार्टीको १४औँ महाविधेशनबाट कांग्रेस थप उर्जा लिएर आएको बताएका नेता बस्नेतले स्थानीय तह, प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा कम्युनिस्टलाई पत्तासाफ बनाउनुपर्ने उल्लेख गरेका छन् ।

कम्युनिस्टहरू विकास विरोधी भएको बताएका नेता बस्नेतले झण्डै दुईतिहाइको कम्युनिस्ट सरकार बनाउँदा पनि कम्युनिस्टले काम गर्न नसकेको बताए ।

नेता बस्नेतले एमाले र राप्रपाका करीव ५० जना नेता कार्यकर्तालाई कांग्रेसमा स्वागत गरेका छन् ।

कांग्रेस प्रवेश गर्नेहरूमा शम्भु भण्डारी, दीपक भण्डारी, सुवास भण्डारी, शेखर पौडेल, सागर भण्डारी, उमेश पौडेल, दीपक राउत, रामजी मगर, गोकुल पौडेल राजकुमार पौडेल, राजेन्द्र भण्डारी, ईश्वर भण्डारी लगायतका रहेका छन् ।

नवप्रवेशीहरूले विगत २ दशकभन्दा धेरै समयदेखि कम्युनिस्ट पार्टीमा रहँदासम्म पनि जनताका लागि कुनै पनि काम नगरेको बताए । उनीहरूले कम्युनिस्टलाई गफाडीहरूको झुण्डको संज्ञा दिएका छन् ।

जनता र विकास निर्माणमा काम गर्ने पार्टी कांग्रेस रहेकाले राप्रपा र एमाले पार्टी परित्याग गरेर कांग्रेसमा प्रवेश गरेको नवप्रवेशीहरूले बताएका छन् ।

कार्यक्रममा महाधिवेशन प्रतिनिधिहरू डा.प्रेमध्वज लामा, युधिर पौडेल, वडा इकाई सभापति हीरा तामाङ, उप–सभापति गेहेन्द्र भण्डारी लगायतका नेताहरूको उपस्थिति रहेको थियो ।

Published : Wednesday, 2021 December 29, 9:37 am

फेसबुकबाट तपाईको प्रतिक्रिया