रोल्पामा कांग्रेस नेताको घर र मोटर साइकल आगजनी

रोल्पा । नेपाली कांग्रसले उप–सभापति हरिबहादुर पुन, सचिव शेरबहादुर थापा र सह–सचिव सुनिलकुमार वलीलगायतलाई लक्षित गरेर आगजनी गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

रोल्पा कांग्रेसका सभापति किशोरकुमार आचार्यले मंगलबार विज्ञप्ति जारी गरेर सोमबार राति नन्दु डाँगीको घरमा आगजनी गरेको घटनाप्रति गम्भीर आपत्ति जनाएका हुन् । उनले दोषीलाई कारबाही गर्न माग गरेका छन् ।

सोमबार गंगादेवी गाउँपालिका–४ का वडा कार्यसमिति सदस्य स्व.गनबहादुर डाँगीको १३औं पूण्यतिथिका अवसरमा आयोजित श्रद्धाञ्जलि सभा र पार्टीका नेता कार्यकर्तासँग भेट गरेर बास बसेका बेला अज्ञात समूहले घरमा आगो लगाइदिएको सभापति आचार्यले बताएका छन् ।

कांग्रेसका नेताहरू गंगादेव गाउँपालिका– ५ स्थित नन्दु डाँगीको घरमा बसेको आशंकामा अज्ञात समूहले घरमा आगो लगाउनुका साथै रा ५ प ९५२१ नम्बरको मोटरसाइकलमा आगो लगाइदिएको थियो ।

‘रोल्पा जिल्लामा यस्ता आपराधिक घटनाहरू दिनप्रतिन बढ्दै जानुले रोल्पाली जनतामा थप त्रास सिर्जना भएको छ’, विज्ञप्तिम भनिएको छ, ‘ यसमा सम्बन्धित निकायको ध्यान जान जरुरी छ ।’

रोल्पा कांग्रेसका सभापति आचार्यले आपराधिक घटनाको सत्यतथ्य पत्ता लगाई घटनामा संलग्न दोषीलाई कानून बमोजिम कडाभन्दा कडा कारबाही गर्न र यस किसिमका घटनाबाट भएको क्षतिपूर्तिको उचित व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

रोल्पा प्रहरीका प्रमुख डीएसपी विनोद घिमिरेले घटनाका विषयमा अनुसन्धान भइरहेको बताए । उनले भने, ‘प्रहरी निरीक्षकलाई घटनास्थलमा पठाएको छु । घटनाको अनुसन्धान भइरहेको छ । पूरा विवरण आएपछि सबै जानकारी दिने छौँ ।’

Published : Tuesday, 2021 December 28, 4:34 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया