इलाम कांग्रेसलाई खड्काले दिए भवन बनाउन सवा करोडको जमीन, यसरी अगाडि बढे सभापति

इलाम । नेपाली कांग्रेस इलामले जिल्लाभरिका अग्रज नेताहरूलाई सम्मान गर्ने निर्णय गरेको छ ।

सोमबार इलाममा बसेको जिल्ला कार्यसमितिको पहिलो बैठकले जिल्लाभरि रहेका अग्रज नेताहरूलाई सम्मान गर्ने निर्णय गरेको नवनिर्वाचित सभापति डम्बरबहादुर खड्काले जानकारी दिए ।

‘हामीले हाम्रा अग्रज नेताहरूको सम्मान गर्न जान्नुपर्छ । अग्रजहरूकै योगदान र प्रयासले कांग्रेस यो अवस्थासम्म आइपुगेको छ’, सभापति खड्काले भने, ‘अग्रजको सरसल्लाह र परामर्शमा हामी अगाडि बढ्ने हो । युवाहरूको साथ र समर्थनमा कांग्रेस बनाउने हो ।’

इलाम कांग्रेसको पार्टी कार्यालय बनाउन सभापति खड्काले इलाम नगरपालिका–७ स्थित जिल्ला अस्पताल नजिकै चार आना जमीन निःशुल्क दिएका छन् । खड्काले कांग्रेसलाई दिएको जमीनको चलनचल्तीको हालको मूल्य १ करोड २६ लाख पर्छ ।

जिल्ला कार्यसमितिको बैठकबाट सभापति खड्काले पार्टी कार्यालय बनाउने निर्णय गराएका छन् । जमीन आफै दिएका खड्काले थप रकम पनि आवश्यक पर्दा सहयोग गर्ने बताएका छन् । सभापतिमा निर्वाचित हुनेवित्तिकै खड्काले इलाम कांग्रेसको पार्टी कार्यालय बनाउने घोषणा गरेका थिए ।

सभापति खड्काले पूर्वमन्त्री केबी गुरुङ, निवार्तमान सभापति हिमालय कमर्चाय, पूर्वसांसद केशव थापा, नेताहरू हरि खनाल, केएन भट्टराई र मोहन श्रेष्ठलाई सल्लाहकारमा राख्ने निर्णय गरेका छन् ।

कांग्रेसको पार्टी कार्यालयलाई व्यवस्थित, टेक्नोलोजीमैत्री र सबै तथ्याङ्क अपडेट रहने गरेर कार्यालय सञ्चालन गर्ने निर्णय पनि खड्काले गरेका छन् । कांग्रेसलाई आवश्यक पर्ने सबै दस्तावेज पार्टी कार्यालयमा राखिनेछ ।

जिल्लाभरि प्रशिक्षण गर्ने निर्णय पनि इलाम कांग्रेसले गरेको छ । कांग्रेसलाई आगामी निर्वाचनमा स्थानीय तह, प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा जिताउन जिल्लाभरि प्रशिक्षण कार्यक्रम हुनेछ ।

इलाम कांग्रेसका जिल्ला सदस्य बुद्ध राईसहित नेता कार्यकर्ताहरूको निधन भएकोमा शोक प्रस्ताव पनि पारित भएको छ ।

इलाम कांग्रेसको निवर्तमान कार्यसमिति र अधिवेशन निष्पक्ष रुपमा सम्पन्न गर्न भूमिका खेल्ने निर्वाचन समिति तथा सबै सहयोगीहरूलाई इलाम कांग्रेसले धन्यावाद दिएको छ ।

Published : Tuesday, 2021 December 28, 12:57 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया