धुन्धुकारीको सातो लिएपछि देउवाको फ्यान बने माओवादीहरू, प्रचण्ड खुसीले गदगद

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देश र जनताप्रति आफूले राष्ट्रघात नगर्ने जनाएका छन् ।

आइतबार काठमाडौंमा माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा देउवाले आफू प्रजातन्त्र र देशका लागि लडेको मान्छे भएको बताए । आफूले कहिल्यै पनि राष्ट्रविरुद्ध सन्धी नगर्ने बताए ।

माओवादीको सम्मेलनमा बोल्ने केही वक्ताहरूले एमसीसीलाई राष्ट्रघाती भनेपछि प्रधानमन्त्री देउवाले राष्ट्रघाती छ वा छैन भनेर एमसीसीका बारेमा पढ्न सुझाव दिएका छन् ।

‘म अरु कुराले आएको थिएँ । एमसीसी राष्ट्रघाती भनिदियो । राष्ट्रघाती भनेको के हो ? पढेको छ कि छैन मलाई थाहा छैन । पहिले पढ्नु पर्‍यो एमसीसी कहाँ छ राष्ट्रघाती ? मैले हेर्दा मैले कहिँ पनि राष्ट्रघाती देखेको छैन’, देउवाले भनेका छन् ।

‘म पनि नेपालको प्रधानमन्त्री हुँ । म राष्ट्रको खिलापमा जाउँला मैले ? म पनि प्रजातन्त्रको लागि, राष्ट्रको लागि लडेको मान्छे हुँ । के राष्ट्रघात काम गरुँला मैले ? राष्ट्रघाती सन्धी किन गरुँला ? एमसीसीका बारेमा पढ्नुस्, अध्ययन गर्नुस्’, देउवाले भने, ‘हाम्रो बीचमा पनि छलफल हुँदैछ । प्रचण्डजी, अरु नेताहरूसँग पनि छलफल गरिरहेका छौँ ।’

प्रधानमन्त्री देउवाले भने, ‘एमसीसी नेपालको हितमा छ । सित्तैमा आएको पैसा हो यो । सित्तैमा आएको पैसा चाहिँदैन भन्छ ।’

‘वर्ल्ड बैंक, एडिबीबाट हामीले ऋण लिन्छौँ । त्यसमा अन्तर्राष्ट्रिय कानून लागू हुन्छ’, उनले भने, ‘एमसीसी नेपालको कानून मान्छु भनेको छ । त्यै पनि मान्दिन । राम्रोसँग बुझ्नु पर्‍यो । बुझ्नु पर्‍यो क्या, त्यही कुरा हो । मलाई विश्वास छ यसलाई सहमति गरेर पास गराउनेछौँ ।’

प्रधानमन्त्री देउवाले पाँच दलीय गठबन्धन कसैको विरुद्ध नबनेको स्पष्टीकरण दिएका छन् । संविधान र संसदको रक्षाका लागि कुरा मिल्नेहरूका बीचको गठबन्धन भएको उनले बताएका छन् ।

‘गठबन्धन कसैको विरुद्धमा बनेको होइन । गठबन्धन अहिलेको संविधानबाट संसद पूरा चलोस् । बीचमा संसद मन पर्‍यो भङ्ग गर्‍यो । बीचमा संसद भङ्ग नहोस् । संसद बीचमा भङ्ग नभएर पूरा चलोस् भन्ने पुनित उद्देश्यका साथ संविधान बनाएको जस्तो लाग्छ’, देउवाले भनेका छन् ।

‘म पनि संविधान मेम्बर थिएँ । संविधान बनाउने कुरामा मेरो पनि केही न केही योगदान छ । त्यसकै आधारमा यो संविधानको बचाउन गठबन्धन बनाएका हौँ । हाम्रो गठबन्धन छ । पाँच दलीय गठबन्धन कसैको खिलापमा होइन’, उनले भनेका छन् ।

‘संविधानका साथ साथै संसद बचाउने पनि हो यो गठबन्धन । यो गठबन्धन पूरा समयसम्म चल्नेछ । यसमा कसैले शंका नगरे हुन्छ । अझ म के चाहन्छु भने अझै अगाडि गठबन्ध जाओस् भन्ने चाहन्छु’, उनले भने, ‘ओलीजीलाई अरु पार्टीहरूलाई नलागोस् कि गठबन्धन हाम्रो खिलाफमा गठबन्धन अगाडि बढ्यो भनेर । आफूहरू मिल्न पाइन्छ नि ?’

प्रधानमन्त्री देउवाले संविधान बनाउने कुरामा प्रचण्डको ठूलो योगदान रहेको बताएका छन् ।

‘संविधान बनाउने कुरामा पुष्पकमल दाहाल प्रचण्डजीको ठूलो योगदान छ । प्रचण्डजीकै कारण हामी संविधान सभामा गएका हौँ । शान्ति प्रक्रियामा पनि प्रचण्डको ठूलो योगदान छ’, उनले भनेका छन् ।

‘मलाई धेरै बोल्नु छैन । आज धेरै लामो भाषण भयो । प्रचण्डजीले बोल्नु होला । लामो लामो बोल्ने वक्ताहरू छन्’, उनले भने, ‘सबैभन्दा कम बोल्ने पनि मै हुँ । लामो बोले मैले ।’

उनले भने, ‘महाधिवेशनको हार्दिक सफलताको कामना गर्दै सौहार्दपूर्ण तरिकाले सफल हुनेछ । हुन त मैले तपाईहरूले कलाई नेता बनाउनु हुन्छ मैले भन्ने कुरा होइन । मलाई विश्वास छ । मैले हेर्दाखेरी प्रचण्डजी नै होला जस्तो लाग्छ मलाई । उहाँलाई पनि हार्दिक शुभकामना दिन्छु ।’
देउवाले मन्तव्य दिने क्रममा माओवादीका नेता कार्यकर्ताहरूले निकै मन लगाएर सुनेका थिए । बेलाबेला देउवाको कुरा मन परेपछि मख्ख परेका माओवादीका प्रतिनिधिहरूले ताली ठोकेर समर्थन गरेका थिए ।

प्रधानमन्त्री देउवाले प्रचण्ड माओवादीको अध्यक्ष बन्ने भनेर प्रचार गरिदिएपछि प्रचण्ड मुसुक्क हाँसेर समर्थनमा ताली बजनाएका थिए ।

माओवादी केन्द्रका अध्यक्ष दाहालले पनि देउवाको निकै प्रशंसाद गरेका छन् । देउवालाई उनले राजनेता भनेर प्रशंसा गरेका छन् ।

Published : Sunday, 2021 December 26, 8:42 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया