निर्वाचनको सुरक्षामा केन्द्रित हुन गृहमन्त्री खाणको निर्देशन

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले राष्ट्रिय सभाको निर्वाचनको सुरक्षामा ध्यान केन्द्रित गर्न सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिएका छन् ।

आइतबार सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समिति बैठकमा राष्ट्रिय सभा निर्वाचनमा सुरक्षा प्रवन्धबारे छलफल भएको गृहसचिव टेकनारायण पाण्डेले जानकारी दिएका छन् ।

‘राष्ट्रिय सभा निर्वाचनमा सुरक्षाको प्रवन्ध कसरी गर्ने भन्ने विषयमा सुरक्षा समिति बैठकमा छलफल भयो’, गृह सचिव पाण्डेले भनेका छन् ।

बैठक निर्वाचनको सुरक्षा विषयमा केन्द्रित थियो । आगामी माघ १२ गते राष्ट्रिय सभाका १९ सदस्य छान्न निर्वाचन हुँदैछ ।

गृहमन्त्री खाणको अध्यक्षतामा बसेको बैठकमा गृहसचिव पाण्डे, रक्षासचिव बेगेन्द्रराज शर्मा पौड्याल, नेपाली सेनाका रथी बालकृष्ण कार्की, नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेशप्रसाद अधिकारी, गृह मन्त्रालयका शान्ति सुरक्षा महाशाखा प्रमुख सहसचिव मुकुन्द निरौला, गृह मन्त्रालयका प्रवक्ता प्रदीप कोइराला, लगायतको सहभागिता थियो ।

Published : Sunday, 2021 December 26, 6:19 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया