लोकप्रिय मतसहित जित्नेवित्तिकै भण्डारीले एमाले–माओवादीका कार्यकर्ता कांग्रेसमा भित्र्याए

दमौली । नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री शंकर भण्डारीले मुलुकलाई कम्युनिष्टहरूको अतिवादबाट जोगाउनुपर्ने बेला आएको बताएका छन् ।

तनहुँ जिल्लाको देवघाट गाउँपालिका– ३ छिपछिपेमा आयोजित कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै भण्डारीले कम्युनिष्टहरूलाई जनताले विश्वास गरेर मत दिएपनि कम्युनिष्टहरूले मुलुक र जनतालाई धोका दिएको बताए ।

उनले केही समयभित्र तीन तहको निर्वाचन हुने भन्दै निर्वाचनमा कांग्रेसलाई जिताउन पार्टीका नेता तथा कार्यकर्ता एक भएर लाग्न आग्रह गरेका छन् ।

मुलुक र मुलुकबासीको भविष्य नेपाली कांग्रेसको हातमा रहेको बताएका नेता भण्डारीले जनताले आगामी तीन तहको निर्वाचनमा कांग्रेसलाई साथ दिने उल्लेख गरेका छन् ।

‘मुलुकमा जति विकास निर्माण र अन्य परिवर्तन भएका छन् ती सबै कांग्रेसको अगुवाईमा भएको हो’, नेता भण्डारीले भनेका छन् ।

कार्यक्रममा नेपाली कांग्रेस तनहुँका सभापति जितप्रकाश आले, उप–सभापतिद्वय देवकुमार श्रेष्ठ र राजेन्द्रकृष्ण श्रेष्ठ, सचिवद्वय सहदेव अधिकारी र लक्ष्मीभक्त खनालको उपस्थिति रहेको थियो ।

पूर्वसांसद झुलबहादुर आले, पूर्व जिल्ला सचिव विश्व बास्तोला, क्षेत्र नं. १ प्रदेश ‘ख’का सभापति काजीमान श्रेष्ठ लगायतले पनि धारणा राखेका थिए ।

कार्यक्रममा नेता भण्डारीले एमाले, माओवादीसहित विभिन्न दल परित्याग गरेर आएका ६० जनाभन्दा धेरै स्थानीय कार्यकर्तालाई कांग्रेसमा प्रवेश गराएका छन् ।

नेता भण्डारीले नवप्रवेशीहरूलाई पार्टीको सदस्यता प्रदान गरेका छन् । उनले नवप्रवेशीहरूलाई पार्टीमा इमान्दार भएर काम गर्न पनि निर्देशन दिएका छन् ।

कांग्रेसको केन्द्रीय सदस्य पदमा भण्डारीले लोकप्रिय मतसहित जितेका छन् । कांग्रेसको केन्द्रीय कार्यसमितिमा भण्डारी लगातार तेस्रो कार्यकालका लागि निर्वाचित भएका छन् ।

Published : Sunday, 2021 December 26, 11:56 am

फेसबुकबाट तपाईको प्रतिक्रिया