कांग्रेसको प्रदेश २ मा देउवा समूहको शानदार जित, पदाधिकारीमा निधि–शेखरको पत्तासाफ

जनकपुरधाम । नेपाली कांग्रेसको प्रदेश नं. २ को महाधिवेशनमा सभापति, पदाधिकारी र सदस्यहरूमा शेरबहादुर देउवा समूहले कब्जा गरेको छ ।

शुक्रबार राति पदाधिकारीको मतगनणा सम्पन्न भएको छ । पदाधिकारीमा देउवा समूहले अर्को समूहलाई ‘डल्लो’ पारेर जितेको छ ।

सभापतिमा कृष्ण यादव निर्वाचित भइसकेका छन् । देउवा समूहले सभापति र पदाधिकारीमा एकलौटी जित हासिल गरेर प्रदेश नं. २ आफ्नो पकडमा रहेको देखाएको छ ।

पदाधिकारीको मतगणनामा सभापतिसहित ८ वटै पदमा कृष्ण यादवको प्यानल विजयी भएको छ ।

विमलेन्द्र निधिका सभापतिका उम्मेदवार रामसरोज यादव र उनको समूह पदाधिकारीमा पराजित भएको छ । रामसरोजलाई जिताउन नसकेपछि निधि आफ्नै गृह प्रदेशमा कमजोर भएका छन् ।

शेखर कोइराला समूहले प्रदेश नं. २ मा सभापतिको उम्मेदवार नै पाएको थिएन । उम्मेदवार नपाएपछि शेखरले सभापतिमा निधिका रामसरोजलाई समर्थन गरेका थिए ।

शुक्रबार बिहान निधि–शेखर समूहका सभापतिका उम्मेदवार रामसरोज यादवलाई १४१ मत अन्तरले पराजित गर्दै सभापति शेरबहादुर देउवा समूहका कृष्ण यादव विजयी भएका थिए ।

शुक्रबार राति सम्पन्न पदाधिकारीको मतगणना परिणामअनुसार उप–सभापतिमा वीरेन्द्रप्रसाद सिंह र चन्द्रशेखर यादव विजयी भएका छन् । सिंहले १०१९ र चन्द्रशेखरले ८९५ मतसहित विजयी भएका हुन् ।

उनीहरूका प्रतिद्वन्द्वी निधि–शेखर समूहका धनलाल ठोकरले ६३६ र विनोदकुमार खनालले ७४० मत प्राप्त गरेर पराजित भएका छन् ।
उप–सभापतिका अर्का उम्मेदवार राधाप्रसाद यादवले १२४ मत ल्याएका छन् ।

महामन्त्रीमा उपेन्द्रकुमार यादव र बृहस्पतिकृष्ण श्रेष्ठ विजयी भएका छन् । उपेन्द्रले ९५९ र वृहस्पतिले ७८८ मत प्राप्त गरी महामन्त्रीमा विजयी भएका हुन् ।

उनीहरूका प्रतिद्वन्द्वी नरेश यादवले ७७५, हरेशप्रसाद महतोले ७०३ र विनोद चौधरीले १९५ मत ल्याएर पराजित भएका छन् ।

सह–महामन्त्री खुल्लातर्फ दुई सिटका लागि भएको मतदानमा जयनारायणप्रसाद यादव र परशुराम चौधरी विजयी भएका छन् ।

सह–महामन्त्री महिलातर्फ विन्दु कुमारी यादव विजयी भएकी छिन् ।

जय नरायणले ८७९ र प्रशुरामले ८२२ मत ल्याएर र्निवाचित भएका हुन् । उनीहरूका प्रतिद्वन्द्वी नारायण चौधरीले ६०१, अरबिन्द अमात्यले २५७, विनोदकुमार यादवले ६९१ र रामनारायण महासेठले ९७ मत प्राप्त गरेर पराजित भएका छन् ।

महिलातर्फ सह–महामन्त्रीमा विन्दुकुमारी यादवले ८८९ मत प्राप्त गरि विजयी भइन् । विन्दुकी प्रतिद्वन्द्वी भीमादेवी शर्माले ५३२, रीता यादवले १५६ र रेखादेवी महरानले ७६ मत ल्याएर पराजित भएका छन् ।

महामन्त्रीमा १३ मतान्तरले पराजित भएका नरेश यादवले उत्पात मच्चाएका छन् । नरेशले मतपरिणामप्रति आपत्ति जनाउँदै पुनः मतगणना गर्न मागसहित उजुरी दिएका छन् ।

Published : Saturday, 2021 December 25, 12:40 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया