विमलेन्द्र–शेखर समूहले प्रदेश २ मा कांग्रेसको मतदान बिथोले, झडप नै भयो

काठमाडौं । नेपाली कांग्रेसको प्रदेश नं. २ को महाधिवेशनमा विमलेन्द्र निधि–शेखर कोइराला समूहले लफडा गरेको छ ।

पूर्वनिर्धारित कार्यक्रमअनुसार आज (बुधबार) मतदान हुने कार्यक्रम थियो । मतपत्र छपाइमा केही ढिलाइ भएपछि विमलेन्द्र–शेखर समूहले मतदान कार्यक्रमलाई बिहीबार सार्न माग गरेका थिए ।

सभापति शेरबहादुर देउवाको समूहबाट सभापतिमा कृष्ण यादव प्यानल बनाएर उत्रिएका छन् ।

विमलेन्द्र निधिले रामसरोज यादवलाई सभापतिमा उम्मेदवार बनाएका छन् । निधिका सभापतिका उम्मेदवार रामसरोजलाई शेखर कोइरालाले समर्थन गरेका छन् ।

आजै मतदान हुँदा चलखेल गर्न नपाइने र पराजित हुने डरले विमलेन्द्र–शेखर समूहले बिहीबारसम्म निर्वाचन सार्न प्रस्ताव गरेको थियो ।

विमलेन्द्र–शेखर समूहको हर्कतको देउवा समूहले विरोध गर्दै आजै मतदान गर्न माग गरेका थिए । त्यसपछि दुबै समूहबीच झडप भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

निर्वाचन समितिले पनि विमलेन्द्र–शेखर समूहलाई साथ दिँदै मतदानको कार्यक्रम बिहीबारसम्म सारेको छ ।

प्रदेश नं. २ मा देउवा समूह बलियो छ । देउवा समूहलाई नेताहरू कृष्णप्रसाद सिटौला, रामचन्द्र पौडेल र शशांक कोइरालालगायतका नेताहरूको समर्थन छ ।

शेखर कोइरालाले सभापतिमा उम्मेदवार नपाएपछि विमलेन्द्र निधिको सभापतिलाई समर्थन गरेर मिसिएका छन् ।

Published : Wednesday, 2021 December 22, 7:09 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया