एआईजी पाल साब जाने बेला के दशा लाग्यो ?

काठमाडौं । महानगरीय प्रहरी कार्यालयका प्रमुख (एआईजी) हरिबहादुर पाल तीन जना अपराधी भारतलाई गुपचुप अबैध रुपमा सुपर्दगी गरेको अभियोगमा विवादमा परेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका तीन जना हत्या आरोपीलाई पालको निर्देशनमा भारतीयलाई नेपाल प्रहरीका केही हाकिमले बुझाएको प्रारम्भीक अनुसन्धानमा खुलेको छ ।

गृह मन्त्रालयले यस विषयमा छानबिन गरी सम्बन्धित प्रहरी अधिकारीमाथि कारबाहीको तयारी गरेको छ । कारबाहीको पहिलो सूचीमा एआईजी पाल छन् ।

भारतीय नागरिक मोहम्मद नुर, मोद रसाद र यासिर अरफतलाई विमानस्थलबाट पक्राउ गरी भारत लगेर भारतीय प्रहरीको जिम्मा लगाइएको थियो । नुरको घर चन्डिगढ तथा रसिद र अरफतको जम्मु–कस्मिरमा पर्छ ।

यो काम महानगरीय प्रहरी कार्यालय रानीपोखरीका डिएसपी नमराज भट्टराई नेतृत्वको टोलीले गरेको थियो । पक्राउ परेका भारतीयलाई गृह मन्त्रालय र प्रहरी हेडक्वाटरलाई कुनै जानकारी नै नदिएर पालको निर्देशनमा भारत लगेर भारतीय प्रहरीलाई बुझाएको प्रारम्भीक अनुसन्धानमा खुलेको उच्च स्रोतले जनाएको छ ।

तीन जना भारतीयलाई भारतलाई बुझाउनुभन्दा केही दिन अगाडि एआईजी पाल व्यक्तिगत काम परेको भन्दै भारत भ्रमणमा गएको अनुसन्धानबाट खुलेको छ ।

डिएसपी भट्टराईले एआईजी पालको आदेशभन्दै कात्तिक ५ गते विमानस्थलबाट निस्किएलगत्तै तीन जना भारतीयलाई पक्राउ गरेका थिए ।

हत्या आरोपी तीन जना भारतीय संयुक्त अरब इमिरेट्स (युएई)को सारजहा विमानस्थल हुँदै नेपाल आएका थिए ।

प्रहरी प्रधान कार्यालयले एक जना डिआइजीको नेतृत्वमा छानबिन गरी गृह मन्त्रालयलाई प्रतिवेदन बुझाइसकेको छ ।

छानबिनका क्रममा प्रहरीले नै ती भारतीयलाई स्कारपियो गाडीमा राखेर सुनौली नाका हुँदै भारतमा लगेर बुझाएको पुष्टि भएको देखिएको छ ।

यो काण्डमा परेका प्रहरीहरूले एआइजी पालको निर्देशनमा आफूहरूले भारतीय तीन जना व्यक्तिलाई सुनौली लगेर भारतीय सुरक्षाकर्मीलाई बुझाएको बयान छानविन समितिलाई दिएका छन् ।

भारतलाई बुझाइएका तीन जना व्यक्तिको इन्काउन्टर भएको चर्चा छ । हाल तीन जनाको अवस्था अज्ञात छ ।

जम्मु–कस्मिरमा केही प्रहरीको हत्यामा उनीहरूको संलग्नताको दाबी गरिएको छ ।

केही महिनापछि अनिवार्य अवकास पाउन लागेका एआईजी पाल एकपछि अर्को विवादमा पर्दै आएका छन् । आईजीपी शैलेस थापा क्षेत्रीलाई हटाएर आईजीपी बन्छु भनेर लागेका पाल अहिले आएर अपराधी भारतलाई बुझाएको काण्डमा परेका छन् ।

Published : Wednesday, 2021 December 22, 10:46 am

फेसबुकबाट तपाईको प्रतिक्रिया