कांग्रेसको प्रदेश २ मा कृष्ण र रामसरोजबीच टक्कर, शेखर समूहको बिचल्ली, हरुवाहरूको लस्कर

काठमाडौं । नेपाली कांग्रेस प्रदेश नं. २ महाधिवेशनमा सभापति पदमा कृष्ण यादव र रामसरोज यादव उम्मेदवार बनेका छन् । बुधबार प्रदेश नं. २ को कांग्रेसको कार्यसमितिका लागि जनकपुरधाममा मतदान हुँदैछ ।

सभापति शेरबहादुर देउवाको समूहबाट कृष्ण यादवले प्यानल बनाएर उम्मेदवारी दिएका छन् । कृष्ण यादव पूर्व सांसद र रौतहट जिल्लाका पूर्व जिल्ला सभापति हुन् ।

नेता विमलेन्द्र निधिको तर्फबाट रामसरोज यादवले उम्मेदवार दिएका छन् । रामसरोजले पनि प्यानल बनाएका छन् । रामसरोज यादव प्रदेश २ का मन्त्री र संसदीय दलका नेता हुन् ।

रामसरोजको समूहलाई शेखर कोइरालाको समर्थन छ । शेखरले प्रदेश नं. २ मा सभापतिको उम्मेदवार पाउन नसकेपछि निधिका सभापतिका उम्मेदवार रामसरोजलाई समर्थन गर्न गरेका छन् ।

सभापतिका उम्मेदवार कृष्ण यादवको प्यानलबाट उप–सभापतिमा चन्द्रशेखर यादव र वीरेन्द्र सिंह उम्मेदवार छन् ।

महामन्त्रीमा उपेन्द्र यादव र वृहस्पतिकृष्ण श्रेष्ठले उम्मेदवारी दिएका छन् ।

सह–महामन्त्रीमा जयनारायण यादव, परशुराम चौधरी र रीता यादव उम्मेदवार बनेका छन् ।

निधिको समूहका रामसरोज यादवको प्यानलबाट उप–सभापतिमा धनलाल ठोकर र विनोद खनालले उम्मेदवारी दर्ता गराएका छन् ।

महामन्त्रीमा नरेश यादव र हरेस यादवले उम्मेदवारी दिएका छन् । सह–महामन्त्रीमा अरविन्द अमात्य, विनोद यादवले उम्मेदवारी दिएका छन् ।
सह–महामन्त्रीमा निर्मला सुवेदीले उम्मेदवारी दिएकी छिन् ।

प्रदेश समितिका ७२ पदमा प्यानलगत प्रतिस्पर्धा हुनेछ ।

कृष्ण यादवको पक्षमा प्रचार प्रसार गर्न गृहमन्त्री समेत रहेका नेता बालकृष्ण खाण, सह–महामन्त्रीद्वय महेन्द्र यादव र फरमुल्लाह मन्सुर, केन्द्रीय सदस्यहरू चित्रलेखा यादव, सुरेन्द्रराज पाण्डे, रामहरि खतिवडा, उदयशमशेर राणा, आनन्द ढुंगाना, रमेश रिजाल जनकपुरमा छन् ।

रामसरोज यादवको समूह जिताउन विमलेन्द्र निधि, उप–सभापति धनराज गुरुङ, महामन्त्री गगनकुमार थापा, पूर्व केन्द्रीय सदस्य रामकृष्ण यादव, सांसद तेजुलाल चौधरी, पूर्व केन्द्रीय सदस्य चन्द्र भण्डारी, पूर्व केन्द्रीय सदस्य गुरुराज घिमिरे, नेपाल तरुण दलको महासचिवमा कारबाहीमा परेर अपदस्थ भएका भुपेन्द्रजंग शाही जनकपुरमा छन् ।

रामसरोज यादवको समूहलाई जिताउन शेखरका हरुवा नेताहरू जनकपुरमा अड्डा जमाएर बसेका छन् ।

Published : Wednesday, 2021 December 22, 9:23 am

फेसबुकबाट तपाईको प्रतिक्रिया