कांग्रेसमा यी ३४ जना केन्द्रीय सदस्यहरू निर्वाचित, मुक्ता बनिन् लोकप्रिय

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समिलते ३४ जना निर्वाचित केन्द्रीय सदस्यहरूको नामावली सार्वजनिक गरेको छ ।

मंगलबार राति समितिले विज्ञप्ति जारी गरेर आरक्षणतर्फ निर्वाचित केन्द्रीय सदस्यहरूको नाम सार्वजनिक गरेको हो ।

केन्द्रीय सदस्य थारु खुला २ पदमा रामजनम चौधरी र योगेन्द्र चौधरी निर्वाचित भएका छन् । रामजनमले २५०३ र योगेन्द्रले २१९८ मत पाएका छन् । थारुतर्फको दुई पदमा ८ जनाले उम्मेदवारी दिएका थिए ।

केन्द्रीय सदस्य थारु महिला २ पदमा कल्पना चौधरी र जीवन राना निर्वाचित भएका छन् । कल्पनाले २५२४ र जीवनले २३४९ मत पाएका थिए । थारु महिलातर्फ ५ जनाले उम्मेदवारी दिएका थिए ।

केन्द्रीय सदस्य सुदूरपश्चिम प्रदेश खुला २ पदमा यज्ञराज जोशी र रणबहादुर रावल निर्वाचित भएका छन् । जोशीले २०४४ र रावलले २६६९ मत पाएका छन् । दुई पदमा ६ जनाले उम्मेदवारी दिएका थिए ।

केन्द्रीय सदस्य सुदूरपश्चिम प्रदेश महिला १ पदमा सुशीला मिश्र भट्ट निर्वाचित भएकी छिन । भट्टले २४२२ मत पाएकी छिन् । महिलातर्फ ३ जनाले उम्मेदवारी दिएका थिए ।

केन्द्रीय सदस्य कर्णाली प्रदेश महिला १ पदमा जानकी सिंह निर्वाचित भएकी छिन् । सिंहले २६२४ मत पाएकी छिन् । यो पदमा दुई जनाको उम्मेदवारी परेको थियो ।

केन्द्रीय सदस्य कर्णाली प्रदेश खुला २ पदमा कर्णबहादुर बुढा र राजिवविक्रम शाह निर्वाचित भएका छन् । बुढाले २२०० र शाहले २८२० मत पाएका छन् । २ पदमा ५ जनाको उम्मेदवारी परेको थियो । कर्णालीबाट केन्द्रीय सदस्यमा उम्मेदवार बनेका हृदयराम थानी पराजित भएका छन् ।

केन्द्रीय सदस्य प्रदेश नं. २ खुला २ पदको परिणाम सार्वजनिक भएको छ ।

खुला दुई पदमा अमृत अर्याल र राजिव कोइराला केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । अर्यालले २३८९ मत पाएका छन् भने कोइरालाले २१५२ मत पाएका छन् । खुला दुई पदका लागि ७ जनाले उम्मेदवारी दिएका थिए ।

केन्द्रीय सदस्य मुस्लिम खुला २ पदमा अब्लुल रज्जाक र अब्दुल सतार निर्वाचित भएका छन् । रज्जाकले २३९० र सतारले २२२८ मत पाएर निर्वाचित भएका हुन् । मुस्लिम २ पदमा १० जनाले उम्मेदवारी दिएका थिए ।

केन्द्रीय सदस्य प्रदेश नं. १ महिलातर्फको पदमा महेन्द्रकुमारी लिम्बु निर्वाचित भएकी छिन् । लिम्बुले २२२९ मत पाएकी छिन् । महिलातर्फ ३ जनाले उम्मेदवारी दिएका थिए ।

केन्द्रीय सदस्य मुस्लिम महिला १ पदमा जावेदा खातुन जागा निर्वाचित भएकी छिन् । खातुनले १९०० मत पाएकी छिन् । महिलातिर ६ जना नेतृले उम्मेदवारी दिएका थिए ।

केन्द्रीय सदस्य मधेशीतर्फ खुला ५ पदमा अजयकुमार चौरसियाले २५२२, विनोद चौधरीले २२०६, दिनेशकुमार यादवले १९५९, चन्द्रमोहन यादवले २१३८ र महेन्द्रकुमार रायले १९८४ मतसहित निर्वाचित भएका छन् । मधेशी पाँच पदमा २३ जनाले उम्मेदवारी दिएका थिए ।

केन्द्रीय सदस्य बाग्मती प्रदेश खुला २ पदमा ध्यानगोविन्द रञ्जित र राजेन्द्रकुमार केसी ‘राजन’ निर्वाचित भएका छन् । रञ्जितले २४१९ र केसीले २१२९ मत पाएका छन् । बाग्मती खुला दुई पदमा ६ जनाले उम्मेदवारी दिएका थिए ।

केन्द्रीय सदस्य मधेशी महिला ४ पदमा नागिना यादवले २८४६, मञ्जुकुमारी यादवले २८८६, मीनाक्षी झाले ३०१२ र मुक्ताकुमारी यादवले ३९६० मतसहित निर्वाचित भएका छन् । मुक्ताकुमारी यादवले लोकप्रिय मतसहित सदस्यमा जितेकी छिन् । मधेशी महिला पदमा ५ जनाको उम्मेदवारी परेको थियो ।

केन्द्रीय सदस्य बाग्मती प्रदेश महिलातर्फ १ पदमा उर्मिला नेपाल केसी निर्वाचित भएकी छिन् । उनले २३४९ मत पाएकी छिन् । महिलातर्फ ३ जनाले उम्मेदवारी दिएका थिए ।

यसैबीच, केन्द्रीय सदस्य लुम्बिनी प्रदेश खुला २ र १ महिलातर्फको नतिजा सार्वजनिक भएको छ ।

मंगलबार राति साढे ९ बजे कांग्रेसको केन्द्रीय निर्वाचन समितिले दिएको जानकारी अनुसार केन्द्रीय सदस्य महिलातर्फ १ पदमा शिला शर्मा खड्काले २६७३ मतसहित निर्वाचित भएकी छिन् । केन्द्रीय सदस्यमा निर्वाचित खड्का स्व.खुमबहादुर खड्की पत्नी पनि हुन् ।

केन्द्रीय सदस्य दुई पदमा देवेन्द्रराज कँडेलले २७२७ र चन्द्रबहादुर केसीले २२६७ मतसहित निर्वाचित भएका छन् । उनीहरू सबै सभापति शेरबहादुर देउवा निकटका हुन् ।

केन्द्रीय सदस्यमा गण्डकी प्रदेशबाट दुई पदमा कृष्णचन्द्र नेपाली पोखरेल र ध्रुव वाग्ले तथा महिलातर्फ सरस्वती अर्याल तिवारी निर्वाचित भएका छन् ।

Published : Tuesday, 2021 December 21, 10:34 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया