ओलीका कीर्तेलाई सफाइ दिने एसएसपी काठमाडौं प्रहरीबाट तानिए, गिरीले लिए कमाण्ड
काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी प्रमुख फेरिएका छन् ।
प्रहरी मुख्यालय नक्सालले काठमाडौं प्रहरीका प्रमुख (एसएसपी) अशोक सिंहलाई हटाएर एसएसपी सुदीप गिरीलाई जिम्मेवारी दिएको छ ।
हेडक्वाटरले सिंहलाई कात्तिक ९ गते हटाएको थियो । एसएसपी सिंहले बालुवाटारको पावर लगाएर अड्डा जमाएर बसेका थिए ।
तत्कालीन प्रधानमन्त्री खड्गप्रसाद ओलीलाई खुसी बनाउन एसएसपी सिंहले कीर्ते काण्डका तत्कालीन डीआईजी नवराज सिलवाललाई सफाइ दिने काम गरेका थिए । त्यसपछि एसएसपी सिंह विवादमा परेका थिए ।
ओलीले डीआईजीमा बढुवा गरिदिने भनेर आश्वासन दिएपछि एसएसपी सिंहले कीर्ते काण्डका सिलवाललाई सफाइ दिने गरेर प्रतिवेदन बनाएर बुझाएका थिए ।
उनको यो कार्यमा एआईजी हरिबहादुर पालले पनि साथ दिएका थिए । त्यस बेला ओलीले पाललाई आईजीपी बनाइदिन्छु भनेर आश्वासन दिएका थिए । एआईजी पाल ‘यती समूह’सँग निकै निकट मानिन्छन् ।
सिलवाल हाल एमालेको प्रतिनिधि सभाका सांसद छन् । कीर्ते काण्ड चलेकै बेला सिलवाल एमालेमा प्रवेश गरेर ललितपुरबाट सांसद जितेका थिए ।
एसएसपी सिंहको भैरहावस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा फालिएको छ ।
शुक्रबारदेखि एसएसपी गिरीले काठमाडौं प्रहरीको जिम्मेवारी सम्हालेका छन् ।
प्रहरी मुख्यालयका प्रवक्ता एवम् एसएसपी बसन्त कुँवरले काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारी एसएसपी गिरीले सम्हालेको बताएका छन् ।
एसएसपी गिरी यसअघि केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)मा कार्यरत थिए ।
उता, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयको प्रमुखमा एसएसपी सुरेन्द्र मैनालीको सरुवा भएको छ ।
हालका प्रमुख एसएसपी राजेशनाथ वास्तोला लामो समयका लागि विदामा छन् ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया