मन्सुरले गगनले जस्तै कमाल गरे, जोरी खोज्ने ‘बबाली’ मुख्यमन्त्री धुलोपिठो भए

काठमाडौं । नेपाली कांग्रेसको सह–महामन्त्रीमा उमाकान्त चौधरी, फर्मुल्लाह मन्सुर, किशोरसिंह राठौर र बद्री पाण्डे विजयी भएका छन् ।

शुक्रबार सार्वजनिक भएको समावेशीतर्फको सह–महामन्त्रीमा चार जना निर्वाचित भएका हुन् ।

कर्णाली प्रदेशको मुख्यमन्त्री समेत रहेका जीवनबहादुर शाही पराजित भएका छन् ।

चीनसँग हुँदै नभएको सीमा विवाद उठाएर लफडा गरेका नेता शाहीलाई सह–महामन्त्रीमा महाधिवेशन प्रतिनिधिहरूले हराइदिएका छन् । प्रतिनिधिहरूले शाहीलाई औकात सिकाइदिएका छन् ।

सह–महामन्त्री मुस्लिमतर्फ फर्मुल्लाह मन्सुरले ९०५ मतअन्तरसहित विजयी भएका छन् । मन्सुर सभापति शेरबहादुर देउवा निकटका हुन् ।

मन्सुरले प्रतिस्पर्धी शेख वकिललाई पराजित गरेका छन् । मन्सुर सभापतिमा पराजित शेखर कोइरालाको समूहका हुन् ।

मन्सुरले २७७६ मत पाएका थिए । प्रतिस्पर्धी वकिलले १८७१ मत पाएका छन् ।

फर्मुल्ला देउवा पक्षका हुन् भने शेख कोइराला प्यानलका हुन् ।

पिछडिएको क्षेत्रबाट सह–महामन्त्रीमा बद्री पाण्डे निर्वाचित भएका छन् । कोइराला समूहका पाण्डेले कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीलाई हराइदिएका हुन् ।

पाण्डेले २४११ मत पाएका थिए । देउवा प्यानलका शाहीले २१३३ मत पाएका छन् । तेस्रो स्थानमा रहेका चेतराज बजालले ९९ मत पाएका थिए ।

खानेपानीमन्त्री समेत रहेका उमाकान्त चौधरीले सह–महामन्त्री पदमा ७७३ मतको अन्तरसहित निर्वाचित भएका छन् । देउवा निकटका चौधरी थारु कोटार्तफ निर्वाचित भएका हुन् ।

चौधरीले २५४५ मत पाएका थिए । कोइराला निकटका तेजुलाल चौधरीले १७७२ मत पाएर पराजित भएका छन् ।

खस आर्यतर्फको सह–महामन्त्रीमा देउवा समूहका किशोरसिंह राठौर विजयी भएका छन् । दुई हजार पाँच सय ७६ मतसहित विजयी भएका हुन् । कोइराला प्यानलका देवराज चालिसले दुई हजार ५९ मत ल्याएर पराजित भएका छन् ।

यसअघि, आदिवासी जनजातितर्फ भीष्मराज आङ्देम्बे, महिलातर्फ महालक्ष्मी उपाध्याय ‘डिना’ र दलिततर्फको सह–महामन्त्रीमा जीवन परियार विजयी भइसकेका छन् ।

Published : Friday, 2021 December 17, 5:58 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया