देउवालाई प्रचण्डले दिए बधाई, गगन–विश्वप्रकाशको बालुवाटारमा प्रशंसा

काठमाडौं । नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवासँग माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा देउवा र दाहालबीच भेटवार्ता भएको हो । दाहालले सभापतिमा पुनः निर्वाचित भएकोमा देउवालाई शुभकमाना र बधाई दिएका छन् ।

देउवा र दाहालका बीच संसदको अबरोध हटाउने, राजनीतिक नियुक्तिहरू, एमसीसी प्रतिनिधि सभामा अगाडि बढाउनेलगायतका विषयमा कुराकानी भएको बुझिएको छ ।

कांग्रेसको महाधिवेशनका कारण देउवा र दाहालबीच झण्डै तीन हप्तादेखि सम्वाद हुन सकेको थिएन ।

सभापति देउवासँग दाहालले गगन थापा र विश्वप्रकाश शर्मा महामन्त्रीमा निर्वाचित भएकोमा पनि खुसी व्यक्त गरेका थिए । दाहालले देउवालाई थापा र शर्माको साथ लिएर अगाडि बढ्दा आगामनी निर्वाचनमा कांग्रेसको भविष्य उज्वल रहेको बताएको स्रोतले जनाएको छ ।

एमालेका अध्यक्ष खड्गप्रसाद ओलीले एमसीसी पारित गराउन सत्तारुढ दलको गठबन्धन भत्काउन प्रस्ताव गरेसँगै देउवासँग दाहालले भेट गरेका छन् ।

देउवालाई ओलीले पछिल्लो समय आलोचना गरिरहेका छैनन् । देउवा र ओलीबीच साँठगाँठ भयो कि भन्ने आशंका भएका बेला देउवा र दाहालबीच भेटवार्ता भएको छ ।

Published : Friday, 2021 December 17, 11:44 am

फेसबुकबाट तपाईको प्रतिक्रिया