संसद निरन्तर अबरोध हुनु राम्रो संकेत होइन : नेता यादव

काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (जसपा) का नेता एवम् पूर्वमन्त्री राजकिशोर यादवले संसदको अबरोध खुलाउन पहल गर्न आग्रह गरेका छन् ।

नेपाली रेडियो नेटवर्कमा बिहीबार बिहान अन्तर्वार्ताका क्रममा नेता यादवले निरन्तर संसद् अवरोध हुनु लोकतन्त्र र संविधानका लागि राम्रो नभएको बताए ।

‘संसद् चल्न सकेको छैन । एमालेको निरन्तर अवरोध छ’, पूर्वमन्त्री यादवले भने, ‘सबैले संसदिभत्र आफ्ना मत, दृष्टीकोण र असहमति राखेको भए राम्रो हुन्थ्यो ।’

उनले भनेका छन्, ‘व्यवस्थापिका चल्न नसक्नु, कार्यपालिकामा गतिशीलता नआउनु र न्यायपालिकामा संकट देखिनु लोकतन्त्र, संविधान र व्यवस्थाका लागि शुभ संकेत होइन ।’

नेता यादवले संसद अबरोध गरिरहेको प्रमुख दल एमालेसँग परामर्श गर्न प्रधानमन्त्री शेरबहादुर देउवासँग आग्रह गरेका छन् ।

‘प्रमुख दलहरू राष्ट्रको ज्वलन्त समस्याभन्दा आन्तरिक काममा केन्द्रित भए’, उनले भनेका छन्, ‘सबै दललाई महाधिवेशन लाग्यो ।’

नेता यादवले जनताको अन्तिम भरोसा रहेको न्यायालय आफैं संकटग्रस्त भएको भन्दै चिन्ता जनाएका छन् ।

उनले प्रधानन्यायाधीशमाथि महाभियोग लगाएर हुन्छ कि अन्य विकल्पमा जान सकिन्छ, यसबारे साझा दृष्टीकोण बनाउनुपर्ने बताएका छन् ।

नेता यादवले एमसीसीमा राष्ट्रिय दृष्टीकोण बनाउन जरुरी रहेको बताएका छन् ।

‘एमसीसी विशुद्ध अनुदानको विषय हो । भू–राजनीतिलाई पनि ख्याल गरेर निर्णय लिनुपर्ने हुन्छ’, उनले भने, ‘यहाँ त कसैलाई एमसीसी नभई नहुने, कसैले नामै सुन्न नचाहने । यस्तो पनि हुन्छ ?’

नेता यादवले भने, ‘प्रधानमन्त्रीले संसदमा छलफलपछि एमसीसीलाई अघि बढाउँदा हामी साथ दिन तयार छौं ।’

Published : Thursday, 2021 December 16, 11:05 am

फेसबुकबाट तपाईको प्रतिक्रिया