पाँचतारे होटल मेरियटका मालिकसहित ठूला यी नौ व्यवसायीमाथि निगरानी, छोपेर थुन्ने तयारी

काठमाडौं । सम्पत्ति शुद्धीकरण विभागले नक्सालमा रहेको पाँचतारे होटल ‘होटल मेरियट’का सञ्चालक शशि अग्रवालसहित नौ जना व्यवसायीमाथि निगरानी बढाएको छ ।

अस्वभाविक तवरले सम्पत्ति बढेको देखिएपछि उनीहरूमाथि निगरानी बढाइएको विभाग उच्च स्रोतले जानकारी दिएको छ ।

मेरियट त्यही होटल हो, जसलाई एमालेका अध्यक्ष खड्गप्रसाद ओलीका विश्वासपात्र महेश बस्नेतले पहिलो पटक कोभिड–१९ महामारी भएको बेलामा तत्कालीन मधेशी जनअधिकार फोरमलाई फुटाउन प्रयोग गरेका थिए ।

त्यसबेला तत्कालीन स्वास्थ्य तथा जनसंख्याराज्यमन्त्री डा. सुरेन्द्र यादवलाई त्यही होटलमा ल्याएर राखिएको थियो । प्रायः सरकारी कार्यक्रम हुने होटलमा स्वभाविकभन्दा अस्वभाविक गतिविधि धेरै हुने गरेको देखिएको विभाग स्रोतले बताएको छ ।

यही होटल मेरियटमा अहिले नेपाली कांग्रेसको १४औं महाधिवेशनमा प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवा हराउने अभियानमा सक्रिय भयो ।

शंकर ग्रुपका मालिक शंकर अग्रवाल र उनका छोरा सुमित अग्रवाल, गण्डकी मेडिकल कलेजका सञ्चालक खुमा अर्याल, ह्याम्स अस्पतालका मालिक रामशरण भण्डारी, पर्यटन व्यवसायी नवराज बजगाइँ र सप्लायर्स, ट्रेकर, होटल र पर्यटन व्यवसायी बालकृष्ण भुसालमाथि पनि विभागले निगरानी बढाएको स्रोतले जनाएको छ ।

पर्यटन व्यवसायी राजेन्द्र बजगाइँ, नोबेल मेडिकल कलेज र काठमाडौं मेडिकल कलेजका सञ्चालक समितिका अधयक्ष डा.सुनिल शर्मामाथि पनि निगरानी बढाएको विभाग स्रोतले जनाएका छ । पर्यटन व्यवसायीद्वय राजेन्द्र र नवराज सहोदर दुई भाई हुन् ।

गत आर्थिक वर्षको पुँजीको रेसियो हेर्दा अस्वभाविक देखिएकाले आन्तरिक रुपमा छानबिन थालिएको विभाग स्रोतले जानकारी दिएको छ ।

पहिला आन्तरिक रुपमा छानबिन गर्ने र पछि पत्र नै काट्ने तयारी भएको विभाग स्रोतले जानकारी दिएको छ । आवश्यक पर्दा उनीहरूलाई पक्राउ गरेर थुनामा राखेर अनुसन्धान अगाडि बढाउने विभागको तयारी रहेको बुझिएको छ ।

Published : Wednesday, 2021 December 15, 6:29 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया