देउवालाई पौडेल दिए शुभकामना, बोहराटारमा खुसीयाली

काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले शेरबहादुर देउवालाई सभापतिमा निर्वाचित भएकोमा शुभकामना तथा बधाई दिएका छन् ।

नेता पौडेलले बुधबार बिहान शुभकामना सन्देश जारी गरेर देउवालाई बधाई दिएका हुन् ।

‘नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट पार्टी सभापतिमा निर्वाचित हुनु भएकोमा श्री शेरबहादुरलाई म हार्दिक बधाई ज्ञापन गर्दछु’, उनले भनेका छन्, ‘सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्दछु ।’

उनले भनेका छन्, ‘हामी राष्ट्रिय जीवन र पार्टी जीवनको इतिहाँसको अत्यन्तै गम्भर मोडमा छौँ ।’

‘एकातिर सात दशक लामो संघर्षबाट नेपाली जनताले स्थापित गरेको लोकतन्त्र र संविधान सभामार्फत जारी संविधान अहिले पनि खतरामुक्त भइसकेको छैन भने अर्कातिर नेपाललाई अस्थिरता र अधोगतितिर धकेल्ने प्रपञ्च जारी छन्’, नेता पौडेलले भनेका छन् ।

‘यी दुबै संकटबाट देशर्ला पार लगाउनका लागि एकताबद्ध र सुदृढ नेपाली कांग्रेस आजको आवश्यक्ता हो’, उनले भने, ‘सबैलाई समेटेर सशक्त र एकताबद्ध कांग्रेस निर्माणमा सभापतिको ध्यान पुगोस् । अनि लोकतन्त्रको रक्षा र सुशासन दिन सफलता मिलोस् ।’

नेता पौडेलले सभापतिमा उम्मेदवारी दिने तयारी गरेका थिए । आफ्नै समूहभित्र असहयोग भएपछि सभापति पदको दौडबाट पौडेल पञ्छिएका थिए । उनले केन्द्रीय सदस्य पदमा समेत उम्मेदवारी दिएका थिएनन् ।

पार्टीको आन्तरिक निर्वाचनका बेला कसैलाई भोट पनि दिएनन् । उनी कसैको पक्षमा खुलेनन् ।

Published : Wednesday, 2021 December 15, 11:24 am

फेसबुकबाट तपाईको प्रतिक्रिया