देउवालाई जित्न झन् सजिलो, यस्तो आयो अंकगणित, फराकिलो मतसहित शेखरलाई नकआउट गर्ने

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवाले झन् राम्रो मत लिएर जित्ने भएका छन् ।

सभापतिका ५ जना उम्मेदवार हुँदा ८२ मतले मात्रै ५१ प्रतिशत कटाउन नसकेका देउवालाई दोस्रो चरणको निर्वाचनमा जितका लागि झन् सहज भएको छ । देउवालाई दोस्रो चरणमा पहिलाको भन्दा धेरै मत पर्नेछ ।

नेता कृष्णप्रसाद सिटौलासँगको सहकार्यमा सभापतिमा उम्मेदवार बनेका देउवाको भोट प्रकाशमान सिंह र विमलेन्द्र निधितिर पनि गएको थियो । दोस्रो चरणको निर्वाचनमा सिंह र निधि रिङ आउट भएका कारण देउवालाई अब उनीहरूको केही भोट आउनेछ ।

दोस्रो चरणको निर्वाचनमा देउवाविरुद्ध चार जना प्रतिस्पर्धी मिल्दा पनि सबै मत कोइरालालाई पर्नेछैन ।

पहिलो चरणमा खसेको ४६७९ मतमध्ये सभापतिका उम्मेदवार देउवाले एक्लैले २२५८ मत ल्याएका थिए । सभापति बन्न आवश्यक पर्ने २३४० मतभन्दा जम्मा ८२ मत मात्रै कम हो ।

शेखर कोइरालाले १७२९ मत पाएका थिए । देउवाले भन्दौ शेखरले ५२९ मत कम हो ।

सभापतिका उम्मेदवार प्रकाशमान सिंहले ३४७ मत पाएका थिए । सिंहले राम्रो मत पाएका हुन् । सिंहले देउवालाई साथ नदिँदा पनि त्यो मत सबै कोइरालालाई जानेछैन । देउवालाई पनि मत पर्नेछ ।

सभापतिका कमजोर मध्येका उम्मेदवार विमलेन्द्र निधिले जम्मा २७३ मत पाए । ठूलो खर्च र भारतको समर्थन पाएको भनेर बोल्दै आएका निधिलाई ठूलो झट्का लागेको छ । निधिले कोइरालालाई साथ दिएमा निधिको आधा मत देउवालाई नै पर्नेछ । निधिका आधा मतदाताहरू कोइराला परिवारसँग रुष्ठ छन् ।

सभापतिका उम्मेदवार कल्याण गुरुङले ३२ मत पाएका छन् । गुरुङले जसलाई साथ दिए पनि उनको भोट दुईतिर बाँडिनेछ ।

दोस्रो चरणको निर्वाचनमा आफ्नो पक्षमा बनाउन देउवा र कोइरालाबीच बिहनैदेखि दौडधुप चलेको छ ।

गृहमन्त्री बालकृष्ण खाणले बिहानै चाक्सिबारी पुगेर नेता प्रकाशमान सिंहसँग भेटवार्ता गरेर देउवालाई सहयोग गर्न आग्रह गरेका छन् ।

कोइराला सिंह, निधि र गुरुङको समेत समर्थन लिएर दोस्रो चरणमा देउवालाई हराउने रणनीतिमा छ । कोइरालाले देउवालाई जति सजिलैसँग हराउँछु भनेर सोँचेका छन्, त्यति सजिलो छैन ।

देउवाविरुद्ध चार जना एक हुँदा सिंह र निधिलाई परेको ६२० मतमध्ये देउवाले कम्तिमा आधा मत तान्न सक्ने अवस्था छ । त्यो आधा मत भनेको ३२० हुन्छ । देउवालाई जित्न त्यो मत आवश्यक्ताभन्दा धेरै हो ।

कांग्रेसमा विगतको परम्परा के देखिन्छ भने अन्तिम अवस्थामा जितको नजिक रहेका उम्मेदवारतिर मतदाता ढल्किन्छन् ।

सिंह, निधि र गुरुङ र यसअघि नखुलेका रामचन्द्र पौडेल र शशांक कोइराला पनि शेखरको पक्षमा खुलेर लागे भने परिणाम देउवाको विपक्षमा नआउला भन्न सकिन्न । त्यो अवस्थामा जे पनि हुन सक्छ ।

Published : Tuesday, 2021 December 14, 10:49 am

फेसबुकबाट तपाईको प्रतिक्रिया