धेरै भोट भएको यो प्रदेशमा शेखर–विमलेन्द्र–प्रकाशमानको पत्तासाफ, उम्मेदवार नै पाएनन्

काठमाडौं । नेपाली कांग्रेसको सभापतिका उम्मेदवार बनेका शेखर कोइराला, विमलेन्द्र निधि र प्रकाशमान सिंहले प्रदेश नं. २ मा उम्मेदवार नै नपाएको खुलासा भएको छ ।

प्रदेश नं. २ तर्फको केन्द्रीय सदस्य पदमा कोइराला, निधि र सिंहले केन्द्रीय सदस्य पदमा उम्मेदवार बन्ने नेता नै नपाएपछि सभापतिका उम्मेदवार शेरबहादुर देउवा समूह निर्विरोध बनेको छ । केन्द्रीय सदस्यमा मनोनयन दिएका तीन जना नेताहरू आनन्दप्रसाद ढुंगाना, रमेश रिजाल र जंगीलाल राय सभापति देउवा निकटका हुन् ।

सभापति देउवाले तीन जना नेताहरूलाई बोलाएर मिलेर जान अनुरोध गरेपछि जंगीलाल रायले आइतबार बिहान उम्मेदवारी फिर्ता लिएका थिए । रायले उम्मेदवारी फिर्ता लिनेवित्तिकै देउवा प्यानलका ढुंगाना र रिजाल सर्वसम्मत भएका हुन् ।

प्रदेश नं. २ कांग्रेसको उर्वर भूमि ‘मुटु’ मानिन्छन् । प्रदेश नं. २ बाट निधिले सभापतिमा उम्मेदवारी दिएका छन् । सभापतिमा उम्मेदवार बनेका निधिले नै केन्द्रीय सदस्य पदको उम्मेदवार पाएनन् ।

ठूलो तामझाम गरिरहेका सभापतिका उम्मेदवार शेखर कोइरालाले समेत प्रदेश नं. २ मा केन्द्रीय सदस्य पदमा उम्मेदवार पाएनन् ।

कोइरालाले प्रदेश नं. २ मा अमरेशकुमार सिंहलाई उम्मेदवार बनाउने योजनामा थिए । सर्लाहीको क्षेत्रीय अधिवेशनमा सिंह महाधिवेशन प्रतिनिधिमा पराजित भएका थिए ।

सभापतिका अर्का उम्मेदवार सिंहले पनि ठूला कुरा गर्दै आएका थिए । सिंहले पनि प्रदेश नं. २ मा उम्मेदवार नै पाएनन् ।

Published : Sunday, 2021 December 12, 12:37 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया