देउवाले रामचन्द्रको ‘आँशु पुछे’, अचानक अंगालो हालेर भावुक बने देउवा–पौडेल

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले नेता रामचन्द्र पौडेलसँग भेट गरेर महाधिवेशनका विषयमा परामर्श गरेका छन् ।

आइतबार बिहान काठमाडौंको बोहराटारस्थित नेता पौडेलको निवासमै पुगेर देउवाले परामर्श गरेका हुन् । भेटवार्तामा कांग्रेसको नयाँ नेतृत्व चयान हुन लागेको भन्दै देउवाले पौडेलसँग सम्वाद गरेका हुन् ।

देउवा र पौडेलबीच के कुरामा सम्वाद भएको थियो ? केही भनिएको छैन । सभापति पदमा मनोनयन दर्ता गराएका देउवाले बिहानै पौडेललाई गएर भेट गर्नुले ठूलो अर्थ राखेको छ ।

‘राष्ट्रका लागि तपाईंको आवश्यकता छ’, पौडेलसँगको भेटमा भएको कुराकानीमा सभापति देउवाको भनाइ उदृत गर्दै स्रोतले भन्यो, ‘राजनीतिबाट बाहिर हुने कुरा नगर्नुस् । स्वास्थ्य राम्रो राखेर बस्नुस् ।’

नेता पौडेलले १४औँ महाधिवेशनमा आफ्नो सिद्धान्त र आदर्श विपरीत अस्वस्थ प्रतिष्पर्धा हुने देखेर महाधिवेशनको प्रक्रियाबाट बाहिरिएको देउवालाई बताएका छन् ।

नेता पौडेलले महाधिवेशनमा स्वास्थ्य प्रतिष्पर्धा गर्न सुझाव दिएका छन् ।

सभापति देउवाले नेता पौडेलसँग भेट गरेर कोइराला परिवारका कारण तनाबमा परेका पौडेललाई आफूले साथ दिने आश्वासन दिएका छन् ।

कोइराला परिवारलाई जिन्दगीभरि साथ दिएका नेता पौडेललाई शेखर कोइरालाको स्वार्थका कारण सभापतिमा उम्मेदवार बन्नबाट रोकेपछि पौडेलले सभापति पदबाट बाहिरिएका थिए । उनले कुनै पनि पदमा उम्मेदवारी दिएका छैनन् ।

पौडेलले निकट मानिने धेरै नेताहरू शेखर कोइरालाको टिममा परेका छन् । हिजोसम्म पौडेल भनेर हिँड्ने नेताहरू सबै शेखरको पछाडि लागेका छन् ।

सभापति देउवा र नेता पौडेल फरक गुटका भए पनि उनीहरूले कांग्रेसमा लामो राजनीति गरेका छन् । सँगै काम गरेका छन् । कांग्रेसका लागि जेलनेल भएका छन् । तितामिठा कुरा गरेका छन् । पौडेललाई राजनीतिमा संकट पर्दा देउवाले गुट नहेरेर सहानुभूति दिन पुगेका छन् ।

Published : Sunday, 2021 December 12, 10:56 am

फेसबुकबाट तपाईको प्रतिक्रिया