कांग्रेसको महामन्त्रीमा मनोनयन दर्ता गराएका डा.महत को हुन् ? यस कारण जिताउन अपील

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री पदमा डा.प्रकाशशरण महतले मनोनयन पत्र दर्ता गराएका छन् ।

शनिबार प्रस्तावक र समर्थकसहित राष्ट्रिय सभा गृहमा डा.महामन्त्री मनोनयन दर्ता गराएका हुन् ।

डा.महतले शेरबहादुर देउवाको टिमबाट महामन्त्री पदमा उम्मेदवारी दर्ता गराएका हुन् । मनोनयन दर्ता गराउन डा.महत सभापति देउवासँगै गएका थिए । डा.महत कांग्रेसको सह–महामन्त्री छन् ।

महामन्त्रीका दावेदार डा.महतले पार्टी र यसका भातृ संगठनहरूलाई चलायमान गराई नेपाली कांग्रेसलाई मुलुकको सबैभन्दा ठूलो, प्रभावशाली, जनआकांक्षालाई सम्बोधन गर्दै राज्य सञ्चालन गर्न समर्थ बनाउन सकिने विश्वास व्यक्त गरेका छन् ।

उनले सबल, चलायमान, परिणाममुखी, राज्य सञ्चालन गर्न समर्थ, जनआकांक्षा सम्बोधन गर्न सक्षम तथा समस्त नेपालीको भविष्य सुरक्षित र सुनिश्चित भएको हेर्ने चाहना राख्ने सबै कायकर्ताको सहयोग र समर्थन पाउने अपेक्षा राखेका छन् ।

को हुन् डा.महत ?

कक्षा ७ मा अध्ययनरत रहँदा नै नेपाल विद्यार्थी संघको आदर्शबाट प्रेरित भएर राजनीतिमा लाग्नुभएका डा.महतको जीवन संघर्ष र चुनौतिले भरिपूर्ण देखिन्छ । २०३६ सालको विद्यार्थी आन्दोलन र २०३७ सालको जनमत संग्रहमा अग्रमोर्चामा रहेर काम गर्नुभएका डा. महतले २०४२ सालको सत्याग्रहमा सक्रिय भूमिका खेल्नुभएको थियो । त्यसबेला २०४० देखि २०४४ सम्म उहाँ नेपाल विद्यार्थी संघको महामन्त्री हुनुहुन्थ्यो ।

नेपाली कांग्रेसको नेतृत्वमा सुरु भएको २०४६ सालको जनआन्दोलनमा डा. महतले एक्सन कमिटीमा रहेर काम गर्नुभएको थियो । पार्टीले दिएका जिम्मेवारीहरु कुशलतापूर्वक पूरा गर्ने सरल, सिधा, इमान्दार र अनुशासित कार्यकर्ता भएकोले पार्टीले उहाँलाई थप जिम्मेवारीहरु प्रदान गर्दै गयो । २०५५ देखि २०५६सम्म (सन १९९८ देखि १९९९सम्म) नेपाली कांग्रेसको केन्द्रीय आर्थिक नीति निर्माण समितिमा रहेर काम गर्ने मौका पाउनुभएका डा. महत २०५९(सन २००२)देखि निरन्तर केन्द्रीय सदस्य रही आउनुभएको छ ।

पटक पटक केन्द्रीय सदस्य हुँदै हाल सहमहामन्त्री जिम्मेवारी सम्हाल्नुभएका डा. महतले पार्टीले सुम्पिएका जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गर्दै आउनुभएको छ । उहाँले २०७० सालमा पार्टीका निर्वाचन परिचालन समितिको संयोजकको भूमिका सफलतापूर्वक निर्वाह गर्नुभएको थियो । सो निर्वाचनमा नेपाली कांग्रेस सबैभन्दा ठूलो दलको रुपमा संविधानसभामा विजयी भएको थियो ।

संसदभित्रको जिम्मेवारी

२०६३ सालको अन्तरिम व्यवस्थापिकाको सदस्यको रुपमा व्यवस्थापिकाको यात्रा आरम्भ गर्नुभएका डा. महतले पहिलो संविधानसभा २०६४देखि २०६९ र दोस्रो संविधानसभा २०७० देखि २०७४ सम्म विधायकको रुपमा देश र नेपाली नागरिकको सेवा पनि गर्नुभएको थियो ।

दोस्रो संविधानसभाले नै २००७ सालको जनक्रान्तिको आह्वान गर्दा नेपाली कांग्रेसका संस्थापक महामानव वी.पी. कोइरालाले अगाडि सार्नुभएको नेपाली जनताले आफू शासित हुने विधान आफ्नै जनप्रतिनिधिबाट बनाउने प्रस्तावनालाई मूर्त रुप दिने सफलता पायो । जननिर्वाचित जनताका प्रतिनिधिहरुबाट संविधान निर्माण गराएर नेपालको राजनीतिक इतिहासलाई नयाँ मोड दिने कार्यमा उहाँले महत्वपूर्ण योगदान गर्नुभयो ।

व्यवस्थापिका संसदका एक क्रियाशील विधायकको रुपमा संसदका राज्य व्यवस्था समिति र संसदीय विशेष सुनुवाई समितिमा उहाँले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो ।

राजकीय जिम्मेवारी

पार्टीको एक सच्चा,इमान्दार,अनुशासित,कर्मठ कार्यकर्ता भएको नाताले उहाँको योग्यता, क्षमता, दक्षता, कर्मप्रतिको समर्पण र कार्य सम्पादन हेरेर पार्टीले डा.महतलाई राज्य सञ्चालनका विभिन्न क्षेत्रमा फरक फरक जिम्मेवारी पनि दिएको छ ।

देशमा माओवादी विद्रोह उत्कर्षमा रहेको बेलामा सरकारले २०५५ सालमा(सन १९९९ मा) गठन गरेको माओवादी समस्या समाधान समितिको सदस्य सचिवको जिम्मेवारी समेत सफलतापूर्वक निर्वाह गर्नुभएका डा. महतलाई प्रधानमन्त्री शेरबहादुर देउवाले २०५८ असोजदेखि २०५९ बैशाखसम्म(सेप्टेम्बर २००१ देखि मे २००२ सम्म) सल्लाहकार नियुक्त गरी आफ्नो योग्यता र क्षमता अनुरुप देश र जनताको भलाईमा काम गर्न सघाउने अवसर दिनुभयो ।

उहाँलाई सरकारले २०५८ चैत्रदेखि २०५९ असोजसम्म(सन २००२ को अप्रिलदेखि अक्टोबरसम्म) राष्ट्रि«य योजना आयोगको सदस्यमा नियुक्त पनि गरेको थिया । उहाँलाई २०६१ असारदेखि २०६१ माघसम्म(सन २००४ देखि २००५ सम्म) परराष्ट्र मन्त्रालयको राज्य मन्त्रीको जिम्मेवारी सम्हाल्ने अवसर पनि प्राप्त भयो ।

२०६३ देखि २०६४ सम्म (२००६ देखि जुन २००७) माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन गठित राष्ट्रिय शान्ति समितिका सदस्य रहेर काम गरेपछि उहाँलाई २०६४ साउनदेखि २०६४ फागुनसम्म (अगष्ट २००७ देखि जुन २००८ सम्म) विभिन्न विद्रोही समूहसंग वार्ता गर्न गठित सरकारी वार्ता समितिको सदस्यको जिम्मेवारी पनि सुम्पिएको थियो ।

२०६६ देखि २०६७ चैत्रसम्म(सन २०१० देखि २०११ सम्म) उहाँ ऊर्जा मन्त्री रहनुभयो । उहाँले ऊर्जा क्षेत्रको जिम्मेवारी पाएको बेलामा नै अहिले राष्ट्रिय गौरवको रुपमा रहेको माथिल्लो तामाकोशी आयोजना स्वदेशी पूँजीबाट निर्माण गर्ने निर्णय भएको थियो । भूकम्प, नाकाबन्दी, बाढी–पहिरो र अन्य अवरोधका कारण ढिलो भएपनि अहिले आयोजनाको निर्माण सम्पन्न भएको छ । यसले नेपाली नीति निर्माता, प्राविधिक, लगानीकर्ता संस्था र सर्वसाधारण लगानीकर्ताको पनि आत्मविश्वास बढाएको छ । यसले मुलुकको आर्थिक विकासमा ठूलो सघाउ पुर्याउने निश्चित छ ।

सोही अवधिमा नै नेपाल र भारतको बीचमा अन्तरदेशीय प्रशारण लाईन निर्माण गर्ने निर्णय भएको थियो । ढल्केवार–मुजफ्पुर ४०० के.भी. प्रशारण लाइनको निर्माणले नेपालको लोडसेडिङ्ख अन्त्य गरी सबै नेपालीलाई उज्यालोतिर लम्किन प्रेरित गरेको यथार्थ यहाँ स्मरणीय हुन आउछ ।

नेकपा माओवादी र नेपाली कांग्रेसको संयुक्त सरकार बनेको बेला अगष्ट २०१६ मा डा. महतले परराष्ट्र मन्त्रीको जिम्मेवारी सम्हाल्ने अवसर पुन पाउनुभयो । यो समय नेपालको तराईमा भएको आन्दोलनले भारतले नेपालमा नाकाबन्दी गरेर नेपाल–भारत सम्बन्ध निकै तल्लो स्तरमा पुगेको अवस्था थियो । पूर्ववर्ती सरकारको पालामा सम्बन्ध सुधार हुन नसकेकोले भारतसंगको सम्बन्ध सौहार्द बनाएर नेपाली जनजीवन सहज बनाउनु पर्ने आवश्यकतालाई मनन गर्दै डा. महतले तीन पटक भारतको भ्रमण गर्नुभयो । सम्बन्ध सामान्यीकरण भयो । बिग्रिएको सम्बन्ध सुधारियो । नाकाबन्दी खुलेर आपूर्ति व्यवस्था सुचारु भयो । भारतका विदेशमन्त्री सुषमा स्वराजले नेपालको भ्रमण गर्नुभयो । नेपालमा भारतीय सहयोगमा सञ्चालित परियोजनाहरु सुचारु भए ।

यही समयमा नेपालले गण्डक संझौता अन्तरगत पाउनुपर्ने सुविधा नपाएको बिषय उठाएर ती सुविधा दिन भारतलाई प्रतिबद्ध बनाउने काम भयो । भारतसंगको दक्षिणी सीमामा हुने बाढी र डुबानको संयुक्त निरीक्षण गरी समाधान खोज्ने सहमति भयो । महाकाली सिंचाईको डीपीआर टुंग्याउने काम भयो । हरेक दुई बर्षमा संयुक्त संयन्त्रको बैठक बस्ने सहमति कायम भयो ।

यही कार्यकालमा चीनसंगको सम्बन्धलाई पनि सन्तुलित राख्ने काम भयो । चीन सरकारले प्रस्ताव गरेको बेल्ट एण्ड रोड इनिसियटिभ(बीआरआई)लाई नेपालको हित अनुकूल हुनेगरी कार्यान्वयनमा ल्याउने संझौतामा हस्ताक्षर सम्पन्न भयो ।

भारतसंगको सुसम्बन्ध राख्नै पर्ने आवश्यकता भएकोले सह–महामन्त्री डा. महतकै अग्रसरतामा नेपाल र भारतका पार्टीहरुबीच सौहार्द सम्बन्ध विकसित गर्न हालै भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख बिजय चौथाइवालेलाई नेपालमा आमन्त्रण गरी नेपालका सबै दलहरुसंगको सम्बन्ध नवीकरण गराउने मौका जुराइएको कुरा यहा स्मरणीय छ ।

सुयोग्य नेता

डा. महत शिक्षा,दीक्षा र योग्यताका हिसाबले पनि अब्बल नेतामा पर्नुहुन्छ । उहाँले संयुक्त राज्य अमेरिकाको इलिनोइस राज्यको कार्बोन्डेलमा अवस्थित साउथर्न इलिनोइस युनिभर्सिटीबाट अर्थशास्त्रमा पीएच डी उपाधि हासिल गर्नुभएको छ । उहाँले सोही राज्यको उर्बाना च्याम्पेनमा रहेको इलिनोइस विश्वविद्यालयबाट नीति अर्थशास्त्र ( पोलिसि इकोनोमिक्स)मा स्नातकोत्तर गर्नुभएको छ । उहाँले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गर्नुभएको छ ।

विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय मञ्चहरुमा नीतिगत तथा अनुसन्धान पत्रहरु प्रस्तुत गर्नुभएका डा.महतका आर्थिक विकास,शान्ति प्रकृया, परराष्ट्र सम्बन्धमा विभिन्न लेखहरु राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलहरुमा प्रकाशित भएका छन् ।

Published : Saturday, 2021 December 11, 7:15 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया