देउवाका ‘खम्बा’ले दिए केन्द्रीय सदस्यमा मात्रै उम्मेदवारी

काठमाडौं । गृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता बालकृष्ण खाणले केन्द्रीय सदस्यमा मनोनयन दर्ता गराएका छन् ।

शनिबार खाणले राष्ट्रिय सभामा पुगेर खुलातर्फको केन्द्रीय सदस्य पदमा उमेदवारी दर्ता गराएका हुन् । नेता खाणले महामन्त्री पदमा दावी गरेका थिए । अन्तिम समयमा उनले केन्द्रीय सदस्य पदमा मात्रै मनोनयन दर्ता गराएका हुन् ।

शेरबहादुर देउवाको प्यानलबाट नेता खाणले केन्द्रीय सदस्यको खुलामा मनोनयन दर्ता गराएको जनाएका छन् ।

नेता खाणले देउवाका ‘खम्बा’ हुन् । देउवालाई दुःख र सुःखमा साथ दिने नेतामा खाण पर्छन् ।

नेता खाणले चाहेको भए देउवा टिमलाई छाडेर अर्को कुनै समूहबाट उम्मेदवारी पनि दिन सक्थे । तर, उनले देउवालाई धोका दिएनन् ।

मनोनयन दर्ता गरेपछि नेता खाणले आफूले देउवालाई सभापतिमा सहयोग गर्न खुलातर्फको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएको बताए ।

उनले भने, ‘केन्द्रीय सदस्य पनि पदाधिकारी जस्तै हो । जहाँ बसेर पनि पार्टीको काम गर्ने हो । सभापतिमा देउवालाई सहयोग गर्नु मेरो कर्तव्य ठानेको छु ।’

Published : Saturday, 2021 December 11, 6:12 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया