कोइराला परिवारले ‘लात’ हानेपछि सडकमा आए पौडेल, जोशीको पाप लाग्यो

काठमाडौं । कोइराला परिवारले ठूलो असहयोग गरेपछि लज्जास्पद हार हुने डरले नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले सभापति पदमा उम्मेदवार बन्नबाट हच्किएका छन् ।

जीवनभरि कोइराला परिवारको ‘चाकडी’ र संरक्षणमा विताएका पौडेलले शनिबार विज्ञप्ति जारी गरेर १४औँ महाविधेशनमा नेतृत्वको प्रतिस्पर्धाबाट अलग रहने निर्णय गरेको जनाएका छन् । ‘पार्टीभित्र अहिले जुन परिस्थिति निर्माण भइरहेको छ, त्यो सन्दर्भमा मैले चौधौँ महाधिवेशनमा नेतृत्वको प्रतिस्पर्धाबाट अलग रहने निर्णय गरेको छु’, विज्ञप्तिमा उल्लेख छ ।

नेता पौडेललाई कोइराला परिवारले ठूलो असहयोग गरेको थियो । शेखर कोइराला, शशांक कोइराला र सुजाता कोइरालाले पौडेललाई सभापतिमा स्वीकार गरेका थिएनन् । शेखर आफैले सभापतिमा टिम बनाएर उम्मेदवार बन्दै छन् ।

शशांकले देखावटी रुपमा पौडेललाई समर्थन गर्ने भनेपनि उनी पनि पौडेल सभापति बनेको हेर्न चाहेका थिएनन् । नेता प्रकाशमान सिंहले त झन् नेता पौडेलका कार्यक्रमहरू बहिस्कार गरेर अलग कार्यक्रम गर्दै आएका थिए ।

कोइराला परिवारले कांग्रेसका धेरै नेताहरूको राजनीति धरापमा पारेको छ । गिरिजाप्रसाद कोइरालाले कृष्णप्रसाद भट्टराई ‘किशुनजी’, गणेशमान सिंह जस्ता नेताहरूको राजनीति चौपट बनाइदिएका थिए । गिरिजाले किशुनजी र गणेशमानलाई कांग्रेस छाड्ने बनाएका थिए ।

गिरिजाकै कारण कांग्रेस दुई टुक्रा भएको थियो । शेरबहादुर देउवालाई समेत गिरिजाले कारबाही गरेर निकालेका थिए । जसका कारण कांग्रेस प्रजातान्त्रिक बनेको थियो । सुशील कोइरालाले पनि आफ्ना विरोध कांग्रेसका धेरै नेताहरू राजनीति समाप्त पारिदिएका थिए ।

खुमबहादुर खड्कालाई भ्रष्टाचारको मुद्धा लगाउनेमा कोइराला परिवार नै थियो । गिरिजाले नै खुमबहादुरलाई भ्रष्टाचारको मुद्धा लगाएर थुनाएका हुन् । सुशील कोइराला र डा.रामवरण यादवले पनि खुमबहादुरलाई समाप्त पार्न ठूलै हर्कत गरेका थिए । त्यो हर्कतमा शेखर कोइराला र विमलेन्द्र निधिको पनि ठूलो हात छ ।

नेता पौडेलले बल्ल कोइराला परिवारको कुरा बुझेका छन् । पौडेलले विज्ञप्तिमार्फत किशुनजी, गणेशमानलाई स्मरण गरेका छन् । कोइराला परिवारकै कारण किशुनजी र गणेशमानको स्थानमा पौडेल पनि पुगेका छन् । ‘चौधौँ महाधिवेशनसम्म आइपुग्दा मैले नेक प्रपञ्च भोगेको छु’, पौडेलले भने, ‘प्रजातन्त्रका मूल्य, मान्यता र आदर्श अंगालेर अथक प्रयन्त गरिरहँदा पनि पार्टी अधिवेशनको मझधारमा आएर प्रतिस्पर्धाको मैदान छोड्न पर्ने अवस्थामा पुगेँ ।’

नेता पौडेलको यो अवस्था र हविगती हुनुमा नेता गोविन्दराज जोशीको पनि पाप लागेको छ । जोशीसँगको राजनीतिक रिसइबीका कारण कांग्रेस पार्टीबाटै कारबाही गरेर पौडेलले जोशीलाई निकाल्न लगाएका थिए । जोशीले पौडेललाई प्रतिनिधि सभा निर्वाचनमा पनि हराइदिए । अहिले आएर सभापतिको टिकट पनि पाएनन् । पौडेलको लोभ र लालचले गर्दा उनको राजनीति अवाशान हुने चरणमा पुगेको छ ।

सभामुख भएको व्यक्ति मन्त्री भए । उप–प्रधानमन्त्री भएपछि फेरि घटुवा भएर मन्त्री बने । प्रधानमन्त्री बन्ने लोभमा १७ पटकसम्म प्रधानमन्त्रीको प्रतिस्पर्धामा पराजित भए । पौडेलले जहाँ पनि लोभ गर्ने र पार्टीमा राम्रो हुन नदिएर टाँग अडाउने कार्यले गर्दा उनलाई नोक्सान भएको छ ।

Published : Saturday, 2021 December 11, 3:21 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया