मलाई साथ दिनुस्, गाउँदेखि माथिसम्म जिताउने जिम्मा मेरो भयो : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नै नेतृत्वमा तीन तहमा कांग्रेसको सरकार बन्ने घोषणा गरेका छन् ।

शुक्रबार काठमाडौंका भृकुटीमण्डपमा कांग्रेसको १४औँ महाधिवेशनको उद्घाटनसत्रलाई सम्बोधन गर्दै देउवाले तत्कालीन प्रधानमन्त्री केपी ओलीको डर, त्रासबाट मुक्त गराएको बताए ।

उनले केपी ओली नेतृत्वको सरकारमा जनताले डर, त्रासको अनुभव गरेको भन्दै आफूले जनतालाई त्यो डर, त्रासबाट मुक्त गराएको बताए ।

आफू प्रधानमन्त्री भएको भोलिपल्टबाटै सबैले ओलीको डर, त्रासबाट मुक्ति पाएको अनुभव गरेको देउवाले बताएका छन् ।

‘जनताले केपी ओलीको शासनबाट मुक्ति पाएका छन्’, उनले भने, ‘अब त्यो मुक्तिलाई कायम राख्ने कि नराख्ने भन्ने कुरा तपाईहरूको हातमा छ ।’

आफूलाई पार्टी सभापतिमा जिताउन आग्रह देउवाले आग्रह गरेका छन् । ‘आउँदो सरकार कांग्रेसको हुन्छ, गाउँदेखि माथिसम्म । त्यो मेरो जिम्मा भयो’, देउवाले भनेका छन् ।

उनले पार्टीको आन्तरिक प्रतिस्पर्धाबाट कुनै किसिमको मनमुटाव राख्न नहुने बताएका छन् । ‘भोलि चुनाव आउँछ, आन्तरिक निर्वाचनमा भएको मनमुटावले आगामी स्थानीय तहको र राष्ट्रिय निर्वाचनमा कुनै असर नगरोस्’, देउवाले भनेका छन् ।

अब तीनै तहमा कांग्रेसको सरकार हुने उनले बताएका छन् । त्यसका लागि आफूलाई जिताउन कार्यकर्तालाई देउवाले आग्रह गरेका छन् ।

‘कुनै पनि हालतमा डर र त्रासबाट मुक्त शासन ल्याएरै छाडिन्छ’, देउवाले भने, ‘कांग्रेसको सरकार बनाउँछु बनाउँछु बनाउँछु । तपाईंहरू मलाई साथ दिनुस् ।’

‘म प्रधानमन्त्री भएपछि जनताले त्रास र डरबाट मुक्ति पाएका छन् । सबै मान्छेले ओलीको शासनबाट मुक्ति भएका छन्’, उनले भने, ‘मुक्तिलाई बचाउने हो भने यो महाधिवेशनले तय गर्छ । तानाशाही सरकार नओस् भन्नका लागि महाधिवेशनले निर्णय गर्नुपर्छ ।’

‘तपाईहरू आउनुभएको छ । कति सहमतिले भयो । कहिँ प्रतिस्पर्धा भयो । मनोमालिन्यताबाट मुक्त हुनुपर्छ । भोलिका दिनमा चुनाव आउँछु । राष्ट्रिय निर्वाचनमा कुनै समस्या आउनु हुँदैन’, सभापति देउवाले भनेका छन् ।

‘कांग्रेसको सरकार रह्यो भने स्थानीय सरकार रहन्छ । राष्ट्रिय सरकार रहनेछ । मलाई एक पटक जिताइदिनुस्’, देउवाले भने, ‘डर र त्रासबाट मुक्त शासन ल्याएर छाडिन्छ । कानूनी शासन बनाइन्छ । तपाईहरूले मलाई साथ दिनुस् ।’

छोटो सम्बोधन गरेका सभापति एवम् प्रधानमन्त्री देउवाको पक्षमा नारावाजी भएपछि नारावाजी नगर्न आग्रह गरेका थिए ।

Published : Friday, 2021 December 10, 7:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया