गगनको स्थान प्रदीपले लिए, पद लिन युवाको नाम दुरुपयोग नगर्न सिटौलाको चेतावनी

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले युवाका नाममा पद पाउन हदैसम्मका हर्कत भएको भन्दै चिन्ता जनाएका छन् ।

शुक्रबार काठमाडौंको भृकुटीमण्डपमा कांग्रेसको १४औँ महाधिवेशनलाई सम्बोधन गर्दै पूर्वमहामन्त्री समेत रहेका नेता सिटौलाले नेतृत्व लिन चाहने युवाहरूको नीति र कार्यक्रम स्पष्ट हुनुपर्ने बताए ।

केन्द्रीय सदस्य गगनकुमार थापाले टिम छाडेर गएको सन्दर्भप्रति लक्षित गर्दै नेता सिटौलाले युवा नेताहरू पद प्राप्तिका लागि युवाका नाममा नीतिविहीन बनेको बताए ।

नेता सिटौलाले कांग्रेसको संख्या थोरै हुँदाहुँदै पनि सरकारको नेतृत्व गर्न परेको बताएका छन् । उनले प्रदेश सरकारहरू पनि कांग्रेसले नेतृत्व गर्न पाएको बताए । झण्डै दुईतिहाइको बहुमत हुँदाहुँदै कम्युनिस्टले देश चलाउन नसकेपछि कांग्रेसले सरकार बनाएको नेता सिटौलाले बताएका छन् ।

‘सरकारसँग धेरै ठूलो अपेक्षा गरेको छैन । सरकारले छिटो निर्वाचन गरोस् । यो सरकार निर्वाचिनसम्म पुगोस् । लोकतन्त्रको रक्षा होस्’, उनले भनेका छन् ।

‘जनतामा कांग्रेसलाई जोड्नुपर्छ । मेरो ध्यान युवातिर केन्द्रित गरेको हो । ५ वर्षमा युवाहरूलाई साथ दिएको छु । हामीबाट सिकेर तपाईहरू बन्नुसहोस्’, उनले भनेका छन् ।

‘युवाहरूमा जागृति आएको छ । तपाईले गर्ने व्यहार प्रष्ट होस् । कार्यक्रम र नीति होस् । मात्र पद लिनका लागि मात्रै नहोस्’, नेता सिटौलाले भनेका छन् ।

नेता सिटौलाले गगन थापाको स्थानमा युवा नेता प्रदीप पौडेललाई अगाडि बढाएका छन् । थापाले टिम छाडेर अलग कार्यक्रम गरेर महामन्त्रीमा उम्मेदवारी घोषणा गर्नेवित्तिकै सिटौलाले पौडेललाई अगाडि सारेका हुन् ।

‘प्रदीप पौडेललाई अगाडि बढ्नुस् भनेको छु’, उनले भने, ‘मेरो साथमा जो साथमा रहन्छ म साथमा रहन्छु ।’

Published : Friday, 2021 December 10, 6:09 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया