कांग्रेसको नयाँ जीवनका लागि आजबाट महाधिवेशन, यस्ता छन् तयारी

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन आज काठमाडौंको भृकुटीमण्डपमा उद्घाटन हुने भएको छ ।

सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटनसत्रलाई दिउँसो एक बजे उद्घाटन गर्ने कार्यक्रम छ ।

सहभागीलाई हेर्न सजिलोका लागि मञ्च बाहिर ठूला पाँच डिस्प्ले राखिएका छन् । भृकुटीमण्डपमा बनाइएको मञ्चमा करीव ४०० मानिस अट्ने बनाइएको छ ।

महाधिवेशनस्थल पार्टीका झण्डा र चुनाव चिह्न रुख अङ्कित झण्डाले सिँगारिएको छ । वरपर विभिन्न स्थानमा स्वागतद्वार राखिएको छ ।

महाधिवेशनमा चार हजार ७०० महाधिवेशन प्रतिनिधि रहनेछन् । महाधिवेशनस्थल वरपरका सबै दृश्य २४ घण्टै सिसीटीभीको निगरानीमा हुनेछ ।

कांग्रेसले शक्ति प्रदर्शन गर्नेछैन । उद्घाटन अघि पञ्चेबाजासहितका झाँकीहरू प्रस्तुत हुनेछन् । समारोहमा लोक गीतहरू प्रस्तुत हुनेछन् ।

गायक÷गायिकाहरू विमलराज क्षेत्री, राधिका हमाल, टीका पुन, मोहन राई लगायतका कलाकारले प्रस्तुति दिनेछन् ।

महाधिवेशनमा सहभागी हुन भारतीय राजनीतिक नेताहरू नेपाल आएका छन् ।

भारतीय जनता पार्टीका नेता हर्ष बर्धन र तृणमूल कांग्रेस नेता मुकुल रोयसहित ४ जना नेपाल आएको सह–महामन्त्री डा.प्रकाशशरण महतले जनाएका छन् ।

कम्तीमा पनि तीन दिनसम्म चल्ने महाधिवेशनमा काठमाडौं उपत्यकाभित्रको सवारी प्रभावित हुनेछ ।

महाधिवेशनमा ५० हजार नेता तथा कार्यकर्ता सहभागी हुँदा कार्यक्रम स्थल वरपरको सवारी आगमनमा प्रभावित हुने देखिन्छ ।

कार्यकर्ताहरूको सवारीले काठमाडौंको आगमनमा प्रभावित नहोस् भने सवारीहरू टुँडिखेल नजिकैको पुरानो बसपार्कमा व्यवस्था गरिएको छ । प्रर्दशनीमार्ग सडक एकतर्फी बनाइने प्रहरीले जानकारी दिएको छ । पुरानो बसपार्कमा करीव १२ हजार सवारी साधन पार्किङ गर्न मिल्छ ।

कांग्रेसले महाधिवेशन अवधिभर प्रतिनिधिहरूलाई होटलसम्म आउन जान गाडीको व्यवस्था गरेको छ । सभास्थलबाट होटलसम्म जान सवारी साधनको व्यवस्थापन गरिएको कांग्रेस महाधिवेशन स्वास्थ्य समितिका संयोजक मोहन बस्नेतले जानकारी दिएका छन् । डेढ सय गाडी तयारी अवस्थामा राखिने बस्नेतले बताए ।

कोभिड संक्रमणलाई मध्यनजर गरेर कांग्रेसले हरेक प्रतिनिधिलाई सेनिटाइजर दिनेछ । अनिवार्य मास्कको व्यवस्था गरिएको छ ।

ओमोक्रन भेरियन्टलाई मध्यनजर गरेर कांग्रेसले महाधिवेशनमा एन्टिजेन टेस्ट पनि गरिनेछ ।

महाधिवेशन प्रतिनिधि बस्नका लागि तीन ठाउँमा होटल बुकिङ गरिएको छ । सुन्धारा, ठमेल र गौशालामा प्रतिनिधिलाई बस्ने व्यवस्था गरिएको छ ।

४७ सय बढी प्रतिनिधिका लागि १०० भन्दा बढी होटल बुकिङ गरिएको आवास तथा भोजन समितिका संयोजक एवं कांग्रेस केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेले बताए ।

मंसिर २४ गते बेलुकादेखि २७ गते बेलुकासम्म खानाको व्यवस्था गरिएको छ । खानाको व्यवस्था भृकुटीमण्डपको बगैँचामा हुनेछ । भृकुटीमण्डपमा शनिबार बन्द सत्र हुनेछ । बन्त्रसत्रमा तीन प्रतिवेदन पेश हुनेछन् ।

Published : Friday, 2021 December 10, 8:37 am

फेसबुकबाट तपाईको प्रतिक्रिया