देउवा समूहबाट पदाधिकारीहरूमा क–कसको सम्भावना ?

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा समूहबाट पदाधिकारीमा धेरै नेताहरूको नाम आएको छ ।

संस्थापन समूहको सभापतिमा देउवा निर्विकल्प रहेका छन् । सभापतिमा समस्या नभए पनि पदाधिकारीमा धेरै नेताहरूको आकांक्षा रहेका कारण नेता व्यवस्थापनमा कठिनाइ देखिएको छ ।

देउवा समूहमा वर्तमान उप–सभापति विजयकुमार गच्छदार र महामन्त्री पूर्णबहादुर खड्का उप–सभापतिमा उम्मेदवार बन्न चाहेका छन् ।

देउवासँग अर्को कुनै समूहले समीकरण गर्नुपर्ने अवस्थामा पनि छ । त्यस्तो अवस्था रह्यो भने खड्का वा गच्छदारमध्ये एक जनालाई उप–सभापति बनाउनुपर्ने बाध्यता छ ।

महामन्त्रीमा डा.प्रकाशशरण महत र बालकृष्ण खाण सबैभन्दा अग्रभागमा छन् । डा.महत र खाण कार्यकर्ताका बीचमा लोकप्रिय छन् ।

यद्यपि, महामन्त्रीमा ज्ञानेन्द्रबहादुर कार्की, विश्वप्रकाश शर्मा, एनपी साउद र रमेश लेखकले पनि दाबी गरिरहेका छन् ।

आफ्नै गृहजिल्ला भोजपुर सम्हाल्न नसकेर सुनसरी झरेका ज्ञानेन्द्रबहादुर कार्कीले महामन्त्रीमा दाबी गरेर आजित बनाएका छन् ।

उप–सभापति विमलेन्द्र निधिसँग गोप्य वार्ता र सम्वादहरू गर्दै आएका एनपी साउदले पनि देउवा समूहबाट महामन्त्रीमा बार्गेनिङ गरिरहेका छन् । विमलेन्द्र निधिको गुटमा खुलेर देखिएका विश्वप्रकाश शर्माले पनि महामन्त्रीमा मोलमोलाइ गरिरहेका छन् ।

नेता कृष्णप्रसाद सिटौला समूह वा अन्य कुनै समूहसँग समीकरणको सम्भावना रहेको सह–महामन्त्री डा.प्रकाशशरण महतले जनाएका छन् ।

सभापति देउवाले ७ प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यको नाम टुंग्याउन ७ जना नेतालाई जिम्मेवारी दिएका छन् ।

प्रदेश १ मा ज्ञानेन्द्रबहादुर कार्की, प्रदेश २ मा रमेश रिजाल, वाग्मतीमा डा.प्रकाशशरण महत, गण्डकीमा गोपालमान श्रेष्ठ, लुम्बिनीमा बालकृष्ण खाण, कर्णालीमा जीवनबहादुर शाही र सुदूरपश्चिममा एनपी साउदलाई जिम्मेवारी दिइएको छ ।

नेताहरूको व्यववस्थापन गर्न उप–सभापति, महामन्त्री र सह–महामन्त्री पद थप्न दवाव बढेको छ । केन्द्रीय कार्यसमितिको बिहीबार बस्ने बैठकले पदाधिकारी थप गर्न सक्ने एक नेताले बताएका छन् ।

८ सह–महामन्त्रीमध्ये पिछडिएको क्षेत्रतर्फ जीवनबहादुर शाहीको नाम चर्चामा छ ।

आदिवासी/जनजातितर्फ भीष्मराज आङदेम्बे, बहादुरसिंह लामालगायतका नेताको नाम चर्चामा छ ।

मधेसीतर्फ महेन्द्र यादव, थारुतर्फ रामजनम चौधरीको नाम चर्चामा छ । मुस्लिमतर्फ फरमुल्लाह मन्सुर र अतहरकमाल मुसलमानको चर्चा छ ।

दलिततर्फ मानबहादुर विश्वकर्मा र मीन विश्वकर्माले सह–महामन्त्रीमा दाबी गरेका छन् ।

महिलातर्फ पुष्पा भुसाल, चित्रलेखा यादव र महालक्ष्मी उपाध्याय ‘डिना’ले दाबी गरेका छन्  ।

खस आर्यतर्फ सुनिलबहादुर थापा, मोहनबहादुर बस्नेत, गोविन्द भट्टराई र शंकर भण्डारीले दाबी गरेका छन् । नेता भण्डारीले आफू महामन्त्री पदको दाबेदार रहेको बताउँदै आएका छन् ।

Published : Thursday, 2021 December 9, 9:58 am

फेसबुकबाट तपाईको प्रतिक्रिया