निधिको खुलासाले कांग्रेसमा खैलाबैला, विश्व-गगन- एनपी-चन्द्रसहितको गुट बनाउन गोप्य वार्ता

काठमाडौं । नेपाली कांग्रेसका उप–सभापति विमलेन्द्र निधिले आफ्नो समूहमा चार जना युवा नेताहरू आउने दावी गरेका छन् ।

सीआईएन नामक एउटा रेडियो कार्यक्रमसँगको अन्तर्वार्तामा उप–सभापति निधिले विश्वप्रकाश शर्मा, गगनकुमार थापा, एनपी साउद र चन्द्र भण्डारीसँग कुराकानी गरेको बताएका छन् । उनले यी चार जना नेताहरूसँग सम्पर्कमा रहेर आफ्नो गुटमा ल्याउन कुराकानी गरिरहेको बताए ।

गगन थापाले नेता कृष्णप्रसाद सिटौलाको टिम छाडेर कहिले प्रकाशमान सिंह, कहिले शेखर कोइराला, कहिले रामचन्द्र पौडेलभन्दै दोहोरो चरित्र देखाउँदै आएका छन् । थापालाई उनका ससुरा अर्जुन नरसिंह केसी र काका ससुरा जगदीश्वर नरसिंह केसीले यता र उता बनाउँदै आएका छन् । युवा नेता थापा अहिले आएर टिम बिहीन बन्न पुगेका छन् ।

विश्वप्रकाश शर्मा पनि टिम बिहीनको अवस्थामा पुग्दै छन् । सभापति शेरबहादुर देउवाले शर्मालाई प्रवक्ताको जिम्मेवारी दिएर पार्टीमा क्रेन लगाएर माथि तानेका थिए । अहिले आएर शर्माले देउवालाई धोका दिएर निधिको टिमबाट महामन्त्री पदमा उम्मेदवार बन्ने गोप्य साँठगाँठमा लागेका छन् ।

निधिलाई सभापतिमा खुलेर प्रचार गरिरहेका प्रवक्ता शर्माले देउवासँग महामन्त्री पद माग गरिरहेका छन् । शर्माको यो हर्कतलाई देउवाले रुचाएका छैनन् । शर्मालाई सह–महामन्त्री पनि धेरै ठूलो हुने चर्चा हुने गरेको छ ।

देउवा समूहमा लागेर लाभ लिएका एनपी साउदका हर्कतहरू निकै नै शंकास्पद रहेका छन् । कञ्चनपुर जिल्लाको कांग्रेसको अधिवेशनमा साउदले देखाएको गतिविधि देउवाविरुद्ध रहेको भनेर रिपोर्टिङ भएको छ । केन्द्रीय सदस्य पद समेत थेग्न नसकेका साउदले महामन्त्रीको दाबी गरिरहेका छन् ।

देउवाले महामन्त्री पद नदिएमा निधिको ‘ग्याङ’मा जाने गरेर गोप्य वार्ता र सम्वादहरू गरिरहेको कुरा स्वयं निधिले आफ्नो अन्तर्वार्तामा भनेका छन् । साउदका पछिल्ला गतिविधिहरू देउवालाई सहयोग गर्नेभन्दा पनि असहयोग गर्ने खालका छन् । उनले हैसियतभन्दा ठूलो पद महामन्त्री माग गरेर सबैलाई चकित बनाएका छन् ।

‘इतर वितर’ बनेका चन्द्र भण्डारीले अहिलेसम्म गुटको जरो समात्न नसकेका बेला निधिले स्थान दिने भनेर गुन लगाएका छन् । कांग्रेसमा भण्डारी सबैभन्दा अस्थिर नेताका रुपमा परिचित छन् । उनलाई कुनै पनि गुटले विश्वास गरेका छैनन् । उप–सभापतिमा उम्मेदवार बन्ने तयारी गरेका भण्डारीले कुनै पनि गुट नपाएपछि निधिको गुटबाट उप–सभापति बन्ने योजनामा रहेको निधिको अन्तर्वार्ताले पुष्टि भएको छ ।

सभापतिमा उम्मेदवारी घोषणा गरेर प्रचार प्रसार गरिरहेका निधिले प्रकाशमान सिंह, शशांक कोइराला र शेखर कोइरालासँग पनि नियमित सम्पर्कमा रहेको बताएका छन् । उनले आफूलाई सभापतिमा सहयोग गर्न प्रकाशमान, शशांक र शेखर पनि सकारात्मक रहेको बताएका छन् ।

सभापति शेरबहादुर देउवाको गुटमा रहेर सबैभन्दा धेरै लाभ लिएका स्वार्थी नेताका पहिचान बनाएका निधिले विश्वप्रकाश शर्मा, गगन, एनपी साउद र चन्द्र भण्डारीलाई आफ्नो गुटमा ल्याउन गोप्य वार्ताहरू गरिरहेको बताएका हुन् ।

Published : Wednesday, 2021 December 8, 10:32 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया