पदाधिकारी र केन्द्रीय सदस्यहरूको सूची बुझाउन देउवाको निर्देशन, यस्तो थियो बुढानिकलण्ठ सहमति
काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले पदाधिकारी र सदस्यमा इच्छुक नेताहरूको सूची बनाएर बुझाउन निर्देशन दिएका छन् ।
काठमाडौंको बुढानिलकण्ठस्थित आफ्नै निजी निवासमा आफू निकटका पदाधिकारी र केन्द्रीय सदस्यहरूसँगको छलफलमा सभापति देउवाले पदाधिकारी र केन्द्रीय सदस्यमा इच्छुक नेताहरूको नाम बुझाउन निर्देशन दिएका हुन् ।
सभापति देउवाले प्रदेश–प्रदेशका नेताहरूलाई आपसी परामर्श र सल्लाह गरेर नामावली टुंगो लगाउन निर्देशन दिएको केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय ‘डिना’ले जानकारी दिइन् ।
सभापति देउवाको भनाइ उदृत गर्दै पूर्वमन्त्री समेत रहेकी केन्द्रीय सदस्य उपाध्यायले भनिन्, ‘सभापति शेरबहादुर देउवाज्यूले सबै प्रदेशका नेताहरूबीच आपसी परामर्श गरेर पदाधिकारी र केन्द्रीय सदस्यमा उम्मेदवार बन्न इच्छुक नेताहरूको सूची तयार पारेर बुझाउन निर्देशन दिनुभएको छ ।’
सभापति देउवाको निर्देशनपछि सात वटै प्रदेशका नेताहरू आन्तरिक गृहकार्यमा जुटेका छन् । प्रदेश–प्रदेशका नेताहरूले आन्तरिक गृहकार्य र परामर्श गरेर सूची बुझाएपछि सभापति देउवाले आफ्नो टिमको घोषणा गर्नेछन् ।
सूची बनाउन प्रदेशस्तरीय छलफल र बैठकहरू बसेका छन् । गृहमन्त्री समेत रहेका नेता बालकृष्ण खाणले लुम्बिनी प्रदेशका नेताहरूसँग गृहमन्त्रालयमा परामर्श गरेका छन् ।
बैठकमा नेतृ उपाध्यायले आफू तीन पटक केन्द्रीय सदस्य बनिसकेकाले १४औँ महाधिवेशनमा पदाधिकारमा उम्मेदवार बन्ने धारणा राखेको बताइन् । उनले महिलाहरूका लािग पदाधिकारी नपुगेको भन्दै थप्न सभापति देउवासँग आग्रह गरेको जानकारी दिएकी छिन् ।
बैठकमा उप–सभापति विजयकुमार गच्छदार, महामन्त्री पूर्णबहादुर खड्का, सह–महामन्त्री डा. प्रकाशरण महत, सह–महामन्त्री सुनिलबहादुर थापा, नेताहरू बालकृष्ण खाण, ज्ञानेन्द्रबहादुर कार्की, एनपी साउद, विश्वप्रकाश शर्मा, योगेन्द्र चौधरी, किशोरसिंह राठौर, अतहर कमाल मुसलमान, अजय चौरासिया, महेन्द्र यादव, महालक्ष्मी उपाध्याय ‘डिना’, पुष्पा भुसाल, डा.डिला संग्रौला, कर्णबहादुर बुढा लगायत करीव ५० जना पदाधिकारी र केन्द्रीय सदस्यहरूको उपस्थिति रहेको थियो ।
कांग्रेसको महाधिवेशन मंसिर २४ गते शुक्रबार काठमाडौंको भृकुटीमण्डपमा उद्घाटन हुँदैछ । मंसिर २५ गते उम्मेदवार मनोनयन दर्ताको कार्यतालिका छ ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया