देउवालाई सभापतिमा जिताउन ‘जय नेपाल’मा सचिवालय स्थापना

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको पक्षमा प्रचार प्रसार गर्नका लागि लुम्बिनी प्रदेश कांग्रेसले सचिवालय स्थापना गरेको छ ।

काठमाडौंको दरबारमार्गस्थित हात्तीसारमा बन्द अवस्थामा रहेको ‘जय नेपाल चलचित्र भवन’मा सम्पर्क कार्यालय स्थापना भएको हो । कार्यालय बुधबारदेखि अनौपचारिक रुपमा सञ्चालनमा आएको छ ।

नेपाली कांग्रेसको लुम्बिनी प्रदेशको ब्यानर राखेर सम्पर्क कार्यालय स्थापना गरिएको छ । सोही कार्यालयबाट महामन्त्रीमा उम्मेदवारी दिने तयारी गरिरहेका गृहमन्त्री बालकृष्ण खाणको पनि प्रचार प्रसारको काम हुनेछ ।

कार्यालय स्थापना भए पनि औपचारिक काम शुरु भएको छैन । प्रधानमन्त्री एवम् सभापति देउवा र गृहमन्त्री खाणले सोही ठाउँबाट नेता कार्यकर्तालाई भेटघाट गर्ने जनाइएको छ ।

सचिवालय महाधिवेशनसम्मका लागि मात्रै हुनेछ । यसअघि कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, प्रकाशमान सिंह, रामचन्द्र पौडेल, शेखर कोइरालालगातले सम्पर्क कार्यालय खोलेका छन् ।

सम्पर्क कार्यालयमा बुधबार नेता कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको थियो ।

कांग्रेसका नेता एवम् लुम्बिनी प्रदेशका उप–सभापति राजु खनाल, रुपन्देही कांग्रेसका सभापति रामकृष्ण खाण, नेताहरू जन्मजय तिमिल्सिना, विमल ढकाल, नेपाल तरुण दल सिन्धुपाल्चोकका अध्यक्ष दोर्जे लामा ‘हाउडे’, दाङ क्षेत्र नं. १ का सभापति भेषराज पाण्डे, ऋषिराज काफ्ले, केशव आचार्य, महेश श्रेष्ठ, काठमाडौं तरुणका सचिव दिनेशबिक्रम शाह, एकराज आचार्य, युवराज खड्कालगायतका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

Published : Wednesday, 2021 December 8, 3:41 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया