पौडेल गठबन्धन भत्किएपछि रामचन्द्रले टाप कसे, नेताहरूद्वारा बहिस्कार, सिटौलाको घरमा पुगे यी नेता

काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले नेतृत्व गरेको ‘पौडेल गठबन्धन’भित्र फुट भएपछि त्यसको असर देखिएको छ ।

सभापतिमा उम्मेदवार बन्न चार जना नेताहरूले तछाड–मछाड गरेपछि पौडेल गठबन्धनभित्र खैलाबैला भएको हो । नेता रामचन्द्र पौडेललाई महामन्त्री शशांक कोइरालाले साथ दिएपछि मंगलबार रातिदेखि पौडेल गठबन्धन फुटेको छ ।

पौडेल गठबन्धनमा सभापतिका लागि रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, प्रकाशमान सिंह र शेखर कोइराला आकांक्षी थिए ।

मंगलबारदेखि शशांक कोइराला सभापतिको दौडबाट भागेका छन् । शशांकले पौडेललाई समर्थन गरेका छन् ।

बुधबार बिहान पौडेल गठबन्धनले काठमाडौंको बत्तीसपुतलीमा बोलाएको भेलामा सभापतिका आकांक्षी नेताहरू नै आएनन् । भेलामा नेता पौडेल मात्रै सहभागी भएका थिए । पौडेल गठबन्धनको भेलामा शशांक कोइराला, प्रकाशमान सिंह र शेखर कोइराला आउँदै आएनन् ।

तीन जना नेताहरूलाई नदेखेपछि नेता पौडेल पनि खाना खान भनेर भेला छाडेर टाप कसेका छन् । भात खान घर हिँडेका नेता पौडेलले चण्डोलस्थित नेता कृष्णप्रसाद सिटौलासँग भेट गरेका छन् ।

सिटौलाको निवासमा पुगेर पौडेलले आफूलाई सभापतिमा समर्थन गर्न आग्रह गरेका छन् । तर, सिटौलाले पौडेललाई पहिला पौडल गठबन्धनमा मिलेर आउन सुझाव दिएका छन् ।

पौडेल गठबन्धनको बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डको भेलाले सभापतिको साझा उम्मेदवार चयन गर्ने भनिएको थियो ।

नेता सिटौलाले सभापतिमा शेरबहादुर देउवालाई नै सहयोग गर्ने निश्चित जस्तै देखिएको छ । देउवा र सिटौलाको गठबन्धनले देशभरि बाजी मारेको छ । यस्तो अवस्थामा नेता सिटौलाले पौडेललाई कुनै पनि हालतमा साथ दिने छैनन् ।

सिटौला आफैंले सभापतिमा उम्मेदवारी दिने पनि कुरा गरेका छैनन् । क्षेत्र, जिल्ला र प्रदेश अधिवेशनहरू चलिरहँदा धेरै ठाउँमा सभापति देउवा र नेता सिटौला समूहबीच गठबन्धन बनेको छ ।

जिल्लादेखि प्रदेशसम्म भएको देउवा–सिटौला गठबन्धनले अपेक्षाकृत नतिजा पनि ल्याएको छ ।

सभापतिको साझा उम्मेदवार बनाउन नसक्ने पौडेलले गठबन्धनले कांग्रेसको हित गर्न सक्दैन । उनीहरू सबै स्वार्थले घेरिएका नेताहरू हुन् । स्वार्थमा डुबेका कारण पौडेल गठबन्धनभित्र सहमति बन्न सकेको छैन ।

Published : Wednesday, 2021 December 8, 12:01 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया