सभापति देउवासँग कांग्रेसका युवा नेताहरूको भेट, सहमतिमा मिलेर जान तयार

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १४औँ महाधिवेशनलाई मेलमिलापको नीतिसहित सफल बनाउनुपर्ने बताएका छन् ।

कांग्रेसका युवा नेताहरूसँग बुधबार बिहान बालुवाटारमा भएको भेटवार्तामा कांग्रेसलाई बलियो र ठूलो पार्टी बनाउन आफू तयार रहेको बताए ।

उनले सबैलाई मिलाएर अगाडि बढ्ने प्रतिवद्धता जनाएको युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले जानकारी दिए ।

नेता खतिवडाले सभापति देउवाको भनाइ उदृत गर्दै भने, ‘सभापतिज्यूले सबैलाई मिलाएर अगाडि बढ्न आफू तयार रहेको बताउनुभएको छ । उहाँले महाधिवेशनलाई मेलमिलाप, एकता र भाइचारा बनाएर जान आह्वान गर्नुभएको छ ।’

सभापति देउवाले महाधिवेशनमा हुने लोकतान्त्रिक प्रक्रियालाई अन्यथा लिन नहुने बताएका छन् । उनले स्वस्थ्य आलोचनाले कांग्रेसलाई अझै सशक्त बनाउने बताएका छन् ।

सभापति देउवासँग केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्मा, किरण गिरी, रामहरि खतिवडा, उदयशम्शेर राणा, नैनसिंह महरलगायतका नेताहरूले भेटे गरेका थिए ।

कांग्रेसको महाधिवेशन आउन दुई दिन बाँकी रहेका बेला युवा नेताहरूले सभापति देउवासँग भेट गरेर सबैलाई मिलाएर अगाडि बढ्न सुझाव दिएका छन् ।

Published : Wednesday, 2021 December 8, 10:22 am

फेसबुकबाट तपाईको प्रतिक्रिया