शेखर कोइरालाको पराजय शुरू, सबैभन्दा प्रिय नेता महाधिवेशन प्रतिनिधिमै हारे

मलंगवा । नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधि सभाका सांसद अमरेशकुमार सिंह महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् ।

सभापतिमा उम्मेदवारी घोषणा गरेका नेता शेखर कोइराला निकटका सिंहलाई कार्यकर्ताले महाधिवेशन प्रतिनिधिमा पराजित गरेका हुन् ।

नेता सिंह सर्लाही–४ बाट प्रतिनिधि सभामा निर्वाचित भएका सांसद हुन् । सिंहले २४८ मत पाएर पराजित भएका छन् ।

प्रदेश नं. २ का मन्त्री वीरेन्द्रप्रसाद सिंहको समूह विजयी भएको छ । मन्त्री सिंहको प्यानलले पाँच सय बढी मत पाएको छ ।

सर्लाही–२ मा अमरेश र वीरेन्द्रबीच ठूलो टकराव छ । अमरेशको हर्कतविरुद्ध वीरेन्द्रको अभियानले मूर्तरुप पाएको छ । कांग्रेसभित्र अराजकता र उछृङ्खलता देखाउँदै आएका अमरेशकुमार सिंह नेता शेखर कोइरालाको ‘हनुमान’ बनेका छन् ।

वीरेन्द्रप्रसाद सिंह सभापति शेरबहादुर देउवा निकट मानिन्छन् ।

अमरेशकुमार सिंह नेता शेखर कोइरालाका समूहबाट पदाधिकारीमा उठ्ने तयारी गरेका थिए । महाधिवेशन प्रतिनिधिमै पराजित भएपछि उनको सबै योजना तुहिएको छ । धेरै चुरीफुरी गरेर सर्लाही कांग्रेसमा भाँडभैलो मच्चाउन खोज्दा कार्यकर्ताले अमरेशकुमार सिंहलाई सबक सिकाएका छन् ।

महाधिवेशन प्रतिनिधि विजयी हुनेमा प्रत्यक्ष खुलातर्फ वीरेन्द्रप्रसाद सिंह, सुरेन्द्रप्रसाद सिंह, कौशलकिशोर सिंह, राजेश्वरप्रसादसिंह, उपेन्द्र कुशवाहा, रघुवीर कार्की, दिनेशकुमार रायमाझी, केशवकुमार खड्का, अजितकुमार सिंह र शिवशंकर रिजाल रहेको निर्वाचत समितिले जनाएको छ ।

प्रत्यक्ष महिलातर्फ रेखा देवी, उषा देवी, किरण शर्मा र देवी सिन्हा महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् ।

महिला मधेसीतर्फ महाधिवेशन प्रतिनिधिमा रेखाकुमारी देवी, सुनैना देवी र अमृतीकुमारी साह विजयी भएका छन् ।

प्रत्यक्ष मधेसी पुरुषतर्फ श्यामसुन्दर यादव, लक्ष्मीनारायण महतो, लालबाबु यादव र नन्दलाल महतो महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् ।

दलिततर्फ दुलम दास र मुस्लिमतर्फ दोस्त महम्मद निर्वाचित भएका छन् ।

Published : Wednesday, 2021 December 8, 9:39 am

फेसबुकबाट तपाईको प्रतिक्रिया