पद ओगट्न ‘पौडेल गठबन्धन’मा मारामार, शशांकले बल्ल आफ्नो औकात बुझे

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला सभापति पदबाट पछाडि हटेका छन् ।

महामन्त्री भएको पाँच वर्षसम्म कांग्रेसमा ‘माखो मार्न’ नसकेका कोइरालाले सभापति पदमा दाबी गरे पनि अहिले आएर पिठ्यु फर्काएर भागेका छन् ।

वीपी कोइरालाको छोरो भएकै नाताले महामन्त्रीमा जितेका कोइरालाले अब सभापति पदमा जित्न नसकिने देखेपछि सभापतिको दौडबाट भागेका हुन् ।

महामन्त्री कोइरालाले नेता रामचन्द्र पौडेललाई सभापति पदमा सहयोग गर्नेभन्दै छाडिदिएका छन् ।

कोइरालाले सभापतिका लागि दाबी गर्दै आएका थिए । अन्तिम समयमा महामन्त्री कोइरालाले सभापतिमा नउठ्ने जनाएर सबैलाई चकित तुल्याइदिएका छन् । महामन्त्री चलाउन नसकेका कोइरालाले सभापति चलाउन सक्ने क्षमता राख्दैनन् ।

सभापतिको साझा उम्मेदवार तय गर्न नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा मंगलबार बसेको पौडेल गठबन्धनको बैठकपछि पत्रकारसँगको कुराकानीमा कोइरालाले आफूले सभापतिमा दाबी छाडेको बताएका छन् ।

‘मैले दाबी छोडें । रामचन्द्रजीले एक पटक छोडिदिनुस् मेरो लागि भन्नुभएको छ’, कोइरालाले भने, ‘तर, अरु मिले उहाँले छोड्ने सङ्केत गर्नुभएको छ । शेखर र प्रकाशमान छोड्ने पक्षमा देखिनुहुन्न ।’

‘हामीसँग छलफल गर्ने समय अब छैन’, कोइरालाले भने, ‘राति टुङ्गिन नसके भोलि बिहान त पक्कै सकिन्छ ।’

सभापतिमा शेरबहादुर देउवालाई हराउन म मात्रै हुँ भनेर चर्चामा आएका महामन्त्री कोइराला सभापति पदको दौडबाट भागेका छन् ।

नेता पौडेलले बुधबार सभापतिको साझा उम्मेदवार बाहिर ल्याइने बताएका छन् । ‘नेपाली कांग्रेसको रुपान्तरण चाहने विचार समूहका साथीहरुले आज निकै छलफल ग¥यौं’, उनले भने, ‘हामी सहमतिको निकै नजिक पुगेका छौं ।’

‘हाम्रो निर्णय भोलिसम्ममा केही प्रक्रिया पुरा गरेर बाहिर आउँछ’, पौडेलले भनेका छन् ।

पौडेल गठबन्धनको बैठक बुधबार बिहान ९ बजे पुनः बस्नेछ । नेताहरूबीच सभापति, प्रधानमन्त्री, राष्ट्रपतिलगायतका पदमा बाँडफाँड गर्ने सहमति भएको छ ।

सभापतिमा उम्मेदवारी घोषणा गरेका नेता सिंहले मंगलबार सम्पर्क कार्यालय खोलेका छन् । शेखर कोइरालाले पनि सभापतिमा उम्मेदवारी दिने बताउने गरेका छन् ।

बैठकमा नेता रामचन्द्र पौडेल, शशांक कोइराला, प्रकाशमान सिंह, शेखर कोइरालासहितका नेताहरूको उपस्थिति रहेको थियो ।

Published : Tuesday, 2021 December 7, 7:43 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया