ललितपुर कांग्रेसका सभापति सिंहसँग कुम जोडर बसेको अवस्थामा फेला

काठमाडौं । नेपाली कांग्रेस ललितपुरका सभापति जितेन्द्रकुमार श्रेष्ठ सभापतिमा उम्मेदवारी घोषणा गरेका नेता प्रकाशमान सिंहको कार्यक्रममा देखिएका छन् ।

मंगलबार नेता सिंहको सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा सहभागी भएर सभापति श्रेष्ठले झट्का दिएका हुन् । नेता सिंहले सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् ।

सभापति शेरबहादुर देउवाको समूहबाट ललितपुर कांग्रेसको सभापतिमा उम्मेदवार बनेर श्रेष्ठ निर्वाचित भएका थिए ।

सभापतिमा जितेको दुई हप्ताभित्रै ललितपुर कांग्रेसको सभापति श्रेष्ठले नेता सिंहको कार्यक्रममा सहभागी भएर देउवा समूहलाई चकित तुल्याइदिएका छन् ।

ललितपुर कांग्रेसमा तीन जनाले सभापतिमा प्रतिस्पर्धा गरेका थिए । रामकृष्ण चित्रकार, मीनकृष्ण महर्जन र जितेन्द्रकुमार श्रेष्ठले सभापतिमा प्रतिस्पर्धा गरेका थिए । यी तीन जना सभापति देउवा समूहका हुन् भनेर प्रचार गरिएको थियो ।

दोस्रो चरणको मतदानमा चित्रकारलाई पराजित गरेर श्रेष्ठले सभापतिमा बाजी मारेका थिए । चित्रकारलाई मदनबहादुर अमात्यको समर्थन थियो ।

महर्जनलाई कांग्रेसका कार्यकर्ताको समर्थन थियो । यी तीन जनामध्ये देउवाका सबैभन्दा निकटका सभापतिका उम्मेदवार महर्जन थिए ।

देउवा समूहलाई प्रयोग गरेर नेता प्रकाशमान सिंह निकटका श्रेष्ठले सभापतिमा जितेपछि आफ्नो रंग देखाएका छन् ।

Published : Tuesday, 2021 December 7, 12:10 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया