कोइरालाको किल्लामा छिरेर थापाको प्यानलले कांग्रेस सभापतिसहित प्यानलमा पासा पल्टाइदियो

विराटनगर । नेपाली कांग्रेस प्रदेश १ को सभापतिमा उद्धव थापा निर्वाचित भएका छन् ।

सोमबार बिहान साढे तीन बजे प्राप्त अन्तिम नतिजाअनुसार थापाले ८ सय ४४ मतसहित सभापतिमा जित हासिल गरेका हुन् ।

सभापतिमा निर्वाचित थापा सभापति शेरबहादुर देउवा र नेता कृष्णप्रसाद सिटौला समूहका हुन् । सभापतिमा उम्मेदवार बनेका थापा र उनको प्यानलले अन्तिम समयमा पासा पल्टाइदिएर सबैलाई चतिक तुल्याइदिएको छ ।

सभापतिमा गुरुराज घिमिरे पराजित भएका छन् । घिमिरेले ८ सय ४२ मत पाएका छन् । घिमिरेलाई नेता रामचन्द्र पौडेल र कोइराला परिवारको समर्थन थियो ।

प्रदेश नं. १ मा कोइराला परिवारको दब्दबा थियो । मोरङमा कोइराला परिवारले कब्जा जमाएर बसेको छ । केही जिल्लामा कोइराला समूहले जिते पनि देउवा–सिटौला समूहले धुलो चटाइदिएका छन् ।

सभापतिमा शुरुदेखि अग्रता लिएका घिमिरेलाई अन्तिममा थापाले २ मतको फरकले पराजित गरेका छन् ।

सभापति शेरबहादुर देउवासँग मिलेर नेता सिटौलाले प्रदेश सभापतिमा कब्जा जमाएका छन् । यसअघि सिटौलाले दुई वटा जिल्ला सभापति जिताइसकेका छन् ।

सभापतिमा पराजित भएपछि घिमिरेले लफडा गरेका थिए । घिमिरेका समर्थकले मतगणनामा त्रुटि भएको भन्दै भाँडभैलो मच्चाउन खोजेका थिए ।

पदाधिकारीमा पनि संस्थापन समूहले जित हासिल गरेको छ । उप–सभापतिमा रमेशजंग रायमाझी र टंकप्रसाद राई विजयी भएका छन् ।

रायमाझीले ८९० तथा राईले ८४७ मत ल्याएका छन् । पराजित भएका गोविन्दप्रसाद ढुङ्गानाले ७६५ तथा विश्वनाथ रिजालले ६६९ मत पाएका छन् ।

महामन्त्रीमा भुपेन्द्र राई र पदमसुन्दर पालुङ्गवा विजयी भएका छन् । उमेश थापा र दिपनकुमार श्रेष्ठ पराजित भएका छन् । राईले ८२४, पालुङ्गवाले ८०७, थापाले ८०३ तथा श्रेष्ठले ७६४ मत पाएका छन् ।

सह–महामन्त्री महिलातर्फ प्रमिला गच्छदार ८ सय ३७ मत ल्याएर विजयी भएकी छिन् । सीता कार्कीले ७ सय ९३ मत प्राप्त गरेर पराजित भएकी छिन् ।

सह–महामन्त्री खुल्लातर्फ सर्वाधिक मतका साथ खड्ग फागो १ हजार २६ मतसहित विजयी भएका छन् । विनोदकुमार बस्नेतले ७ सय ४७ मत प्राप्त गरि विजयी बनेका छन् ।

सह–महामन्त्रीमा पराजित भएका रोहितकुमार शाहले ६६५, वीरकाजी राईले ६४७ तथा शुभचन्द्र राईले ८४ मत ल्याएका छन् ।

Published : Monday, 2021 December 6, 8:26 am

फेसबुकबाट तपाईको प्रतिक्रिया