सह–महामन्त्री डा.महतको बाग्मती कांग्रेसमा ‘मिशन’ पूरा

काठमाडौं । नेपाली कांग्रेसका सह–महामन्त्री डा.प्रकाशशरण महतले बाग्मती प्रदेशमा आफ्नो मिशन सफल बनाएका छन् ।

कांग्रेसको बाग्मती प्रदेश कार्यसमितिको सभापतिमा युवा नेता ईन्द्रबहादुर बानियाँलाई विजयी बनाउन भूमिका खेलेर डा.महतले मिशन पूरा गरेका हुन् । डा.महतले बाहिर प्रचार गरेरभन्दा पनि भित्री रुपमा रणनीति बनाएर बानियाँलाई जिताएरै छाडेका छन् ।

बानियाँलाई टिकटका लागि सभापति शेरबहादुर देउवासँग आग्रह गर्नेदेखि काठमाडौं उपत्यकामा रहेका शीर्ष नेताहरूसँग सम्वाद गरेर जिताउन भूमिका खेलका थिए । उनले बाग्मती प्रदेशका सभापति, क्षेत्रीय सभाति, प्रदेश सभापति, वडा सभापति, केन्द्रीय सदस्य, सांसद लगायत धेरै नेता, कार्यकर्ताहरूसँग बानियाँका लागि भोट मागेका थिए ।

बानियाँको प्यानल बनाउनेदेखि महाधिवेशन प्रतिनिधिहरूसँग भोट माग्नेसम्मको कार्यमा डा.महतले भूमिका खेलेको कांग्रेसका एक नेताको भनाइ छ ।

बाग्मती प्रदेशको सभापतिमा बानियाँले जित्नुभएको छ, उहाँलाई जिताउन तपाईको पनि भूमिका छ भन्छन् नि हो ? भनेर राखिएको जिज्ञासामा सह–महामन्त्री डा.महतले भने, ‘यो पार्टीभित्रको आन्तरिक लोकतन्त्र हो । ईन्द्रबहादुर बानियाँजीले जित्नु भनेको कांग्रेसका नेता कार्यकर्ता, तपाई हामी सबैको जित हो । कांग्रेसका कार्यकर्ता र प्रतिनिधिहरूले जिताउनु भएको छ । सबैलाई धन्यावाद र बानियाँजीलाई शुभकामना ।’

डा.महतले सभापतिमा निर्वाचित भएका बानियाँसँग सबैलाई मिलाएर सफल नेतृत्व दिन सुझाव दिएका छन् । ‘यो जित व्यक्तिको होइन । सबै कांग्रेसका कार्यकर्ताको हो’, उनले भने, ‘अब एकजुट भएर सबै निर्वाचन जित्ने कांग्रेस बनाउनुपर्छ । बानियाँजीको नेतृत्वमा बाग्मतीमा कांग्रेसले जित्नुपर्छ ।’

कांग्रेसको १४औँ महाविधेशनमा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका डा.महत कार्यकर्तामाझ सक्रिय छन् ।

यसैबीच, हेटौँडामा आइतबार राति बानियाँले सभापतिमा जित्नेवित्तिकै समर्थक र शुभेच्छुकहरूले नारावाजी गरेर खुसीयाली साटेका छन् ।

महाधिवेशन प्रतिनिधि, शीर्ष नेतृत्व, शुभेच्छुक सबैलाई बानियाँले धन्यावाद दिएका छन् । केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय ‘डिना’ले पनि सबै कांग्रेसीको जित भएको बताएकी छिन् । उनले ईन्द्रबहादुर बानियाँको भन्दा पनि कांग्रेसको जित भएको बताएकी छिन् । उनले आन्तरिक लोकतन्त्रलाई अधिवेशनसम्म मात्रै सीमित राख्न अनुरोध गरेकी छिन् ।

Published : Sunday, 2021 December 5, 10:57 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया