बाग्मती कांग्रेसको सभापतिमा बानियाँको जित, गगन थापाका ससुराको पत्तासाफ

हेटौँडा । नेपाली कांग्रेस बाग्मती प्रदेशको सभापतिमा ईन्द्रबहादुर बानियाँ शानदार मतका साथ विजयी भएका छन् ।

आइतबार भएको दोस्रो चरणको मतदानपछिको अन्तिम नतिजाअनुसार बानियाँले १ हजार ८५ मतसहित जित हासिल गरेका हुन् । सभापतिमा निर्वाचित भएका बानियाँ सभापति शेरबहादुर देउवा निकटका हुन् । बानियाँलाई नेता कृष्णप्रसाद सिटौला समूहले समर्थन गरेको थियो ।

सभापतिका अर्का उम्मेदवार जगदीश्वर नरसिंह केसी पराजित भएका छन् । केसीले ९ सय २७ मत पाएका थिए । उनी नेता रामचन्द्र पौडेल समूह निकटका मानिन्छन् । केसीलाई नेता प्रकाशमान सिंह र छोरीज्वाइँ गगन थापाको समर्थन थियो ।

ससुरा केसीलाई जिताउन युवा नेता थापाले ठूलो प्रयास र प्रचार–प्रसार गरेका थिए । तैपनि ससुरालाई जिताउन थापा असफल भएका छन् । बानियाँ र केसीबीच १ सय १३ मतको अन्तर रहेको छ ।

नुवाकोट कांग्रेसको अधिवेशनमा केसी परिवारको लज्जास्पद हार भइसकेको छ । बाग्मती प्रदेशको सभापतिमा पनि केसीको हार भएको छ ।

नुवाकोट कांग्रेसमा केदारनरसिंह केसी सभापतिका उम्मेदवार थिए । केसी परिवारले जहिले पनि कांग्रेसभित्र भाँडभैला मच्चाउँदै आएको थियो । यस पटक केसी परिवारलाई वडादेखि नै कार्यकर्ताले हराएर सबक सिकाउँदै आएका छन् । प्रदेशमा पनि केसी परिवारको हार भएको छ ।

शनिबार भएको प्रतिस्पर्धामा सभापतिका तीन उम्मेदवारमध्य कसैले पनि ५१ प्रतिशत मत ल्याउन नसकेपछि पहिरो र दोस्रो मत पाएका सभापतिका उम्मेदवारबीच आइतबार पुनः मतदान भएको थियो ।

सभापतिमा तेस्रो स्थान पाएका नेता सिटौला समूहका भीमसेनदास प्रधानले बानियाँलाई समर्थन गरेका थिए ।

Published : Sunday, 2021 December 5, 9:59 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया