बाग्मती कांग्रेसको सभापति हुनबाट बानियाँ थोरै मतले चुके, ‘ससुरा’लाई आज नकआउट गर्ने

हेटौँडा । नेपाली कांग्रेस बागमती प्रदेशको सभापतिमा ५१ प्रतिशत मत नआएपछि पुनः मतदान हुने भएको छ ।

आइतबार बिहान प्राप्त अनन्तिम नतिजाअनुसार सभापति पदमा इन्द्रबहादुर बानियाँले सबैभन्दा धेरै मत ल्याएका थिए । बानियाँले ९९२ मत प्राप्त गरेका छन् ।

बानियाँ थोरै मतले पहिलो चरणमा सभापतिमा विजयी हुनबाट बञ्चित भएका हुन् । बानियाँ सभापति शेरबहादुर देउवा समूहका हुन् ।

सभापतिका उम्मेदवार जगदीश्वरनरसिंह केसीले ८७२ मत पाएका छन् । केसी नेता रामचन्द्र पौडेल समूहबाट सभापतिमा प्रतिस्पर्धा गरेका थिए ।

पौडेल समूहबाट सभापतिमा उम्मेदवार बनेका केसी नेता अर्जुननरसिंह केसीका भाई र केन्द्रीय सदस्य गगनकुमार थापाका ससुरा हुन् ।

सभापतिका अर्का उम्मदवार भीमसेनदास प्रधानले १९७ मत प्राप्त गरेका छन् । प्रधानलाई नेता कृष्णप्रसाद सिटौलाको समर्थन छ ।

बागमतीमा सभापति पदमा आज पुनः मतदान हुने भएको छ । कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत प्राप्त गर्न नसकेका कारण पुनः मतदान हुने भएको हो ।

बानियाँले कुल मतको ४८ प्रतिशत मत प्राप्त गरेका छन् ।

पहिलो मत पाएका बानियाँ र दोस्रो मत केसीबीच आज सभापतिमा मतदान हुनेछ ।

शनिबार १० बजे रात सकिएको मतदानमा २ हजार ८३ मत खसेको थियो । १० मत बदर भएको निर्वाचन समितिले जनाएको छ ।

Published : Sunday, 2021 December 5, 8:50 am

फेसबुकबाट तपाईको प्रतिक्रिया