गगन थापाद्वारा आफ्नै सरकारको आलोचना, देउवालाई सुध्रिन चेतावनी

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले सरकारको कामकारबाहीप्रति असन्तुष्टि जनाउँदै आलोचना गरेका छन् ।

शुक्रबार नेपाल विद्युत प्राधिकरण कर्मचारी संघले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा नेता थापाले सरकारले आफ्नो काममा गति पक्रन नसकेको बताए । उनले प्रधानमन्त्री शेरबहादुर देउवाको आलोचना गरेका छन् ।

कांग्रेस नेता थापाले घुमाउरो भाषामा देउवालाई सुध्रिन चेतावनी दिएका छन् ।

दुई छिमेकी मुलुक भारत र चीनबाट फाईदा लिने मौका नचुकाउन कांग्रेस नेता थापाले सरकारको ध्यानाकर्षण गराएका छन् ।

उनले भने, ‘यो सरकारले जुन गति पक्रनुपर्ने हो, त्यो गति हामीले पक्रन सकेका छैनौं ।’

‘त्यसैले डर लागेको छ, नेपाली नागरिक भएर । जसरी हामीले २००७ सालपछिको समय खेर फाल्यौं’, थापाले भने, ‘फेरि हामीले अब अर्को मौका खेर फाल्दै छौं कि भन्ने डर लाग्न थालेको छ । यो बेला सम्हालिनु पर्नेछ ।’

‘आजको दिन भारत र चीनलाई केन्द्र बनाएर चाहे राजनीति होस् अझ खास गरेर वर्ल्डको ईकोनोमी सबै गतिविधि कहाँ छ, चीन र भारत केन्द्रित छ’, उनले भनेका छन् ।

‘यसभित्र नेपालले लाभ लिन सक्यो भने सक्यो, नत्र फेरि एक पटक मौका छुट्छ’, प्रतिनिधि सभाका सांसद समेत रहेका थापाले भनेका छन् ।

विद्युत खपत बढाउने विषयमा सोँच्न पनि प्रधानमन्त्री देउवालाई उनले आग्रह गरेका छन् ।

Published : Friday, 2021 October 22, 2:59 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया