देउवाको अभिव्यक्तिले खैलाबैला, कांग्रेसका कार्यतकर्तामा खुसीयाली

धनगढी । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनले भनेमा अर्ली इलेक्सन हुनसक्ने बताएका छन् ।

शुक्रबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा देउवाले अर्ली इलेक्सनका विषयमा गठबन्धनका नेताहरूसँग परामर्श गर्ने बताएका हुन् ।

‘गठबन्धनको सरकार छ, मैले एक्लैले भनेर हुँदैन’, प्रधानमन्त्री देउवाले भने, ‘गठबन्धनले जे भन्छ, त्यही हुन्छ ।’

नेपाली कांग्रेसका सभापति समेत रहेका देउवाले अर्ली इलेक्सनप्रति दिएको यो अभिव्यक्तिले तरंग उत्पन्न गरिदिएको छ ।

देउवाको अर्ली इलेक्सनवाला अभिव्यक्तिले कांग्रेसका नेता कार्यकर्तामा उत्साह थपिएको छ । कांग्रेसका कार्यकर्ताले अर्ली इलेक्सन चाहेका बेला देउवाले सकारात्मक अभिव्यक्ति दिएका छन् ।

कांग्रेसका केही नेता र प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष खड्गप्रसाद ओलीले समेत अर्ली इलेक्सनका विषयमा बोलेका थिए । वैशाखभित्र अर्ली इलेक्सन गर्न देउवालाई दवाव छ ।

प्रधानमन्त्री देउवाले बाढीपहिरोले निम्त्याएको क्षतिबारे अल्पकालीन र दीर्घकालीन राहतको कार्यक्रम ल्याइने बताएका छन् । उनले पुनर्निर्माणको योजनाहरू ल्याउने आश्वासन दिएका छन् ।

‘सुदूरपश्चिममा ठूलो संख्यामा मानवीय क्षति भएको छ’, उनले भने, ‘पूर्वमा पनि यस्तै क्षति भएको छ ।’

प्रधानमन्त्री देउवाले भने, ‘म त्यहाँ (पूर्व)पनि जाँदैछु । अहिले उद्धार र राहतको काम भइरहेको छ । दीर्घकालीन योजना बनाएर काम गर्नुपर्नेछ ।’

प्रधानमन्त्री देउवाले अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पास हुनुपर्ने बताएका छन् ।

‘एमसीसीको बारेमा झूठा प्रचार गरिएको छ । एमसीसी पास हुन्छ’, देउवाले भने, ‘यसमा संशोधन गर्नुपर्ने कुरै केही छैन ।’

उनले एमसीसी अनुदान भएकाले ऋण सहयोगमा अन्तर्राष्ट्रिय कानून लागू हुने बताएका छन् ।

सभापति देउवाले नेपाली कांग्रेसको १४औँ महाधिवेशनका विषयमा केन्द्रीय निर्वाचन समितिले गर्ने निर्णयका आधारमा हुने बताएका छन् ।

प्रधानमन्त्री देउवा बाढी र पहिरोबाट भएको जनधनको नोक्सानीका बारेमा स्थलगत जानकारी लिन बिहीबार हेलिकप्टरबाट सुदूरपश्चिमको भ्रमणमा निस्किएका हुन् । देउवाले आफूसँग मन्त्री र कांग्रेसका नेताहरूलाई पनि साथमा ल्याएका छन् ।

Published : Friday, 2021 October 22, 11:08 am

फेसबुकबाट तपाईको प्रतिक्रिया