बंगलादेशमा हिन्दूलाई ज्यादती नगर्न कांग्रेस नेता भण्डारीको आग्रह, धार्मिक संहिष्णुता बनाउन अपील

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् तरुण विभागका प्रमुख शंकर भण्डारीले बंगलादेशमा हिन्दू धर्ममान्ने समुदायमाथि भएको घटनाप्रति चिन्ता जनाउँदै घटना दोहोरिन नदिन अपील गरेका छन् ।

पूर्वमन्त्री समेत रहेका नेता भण्डारीले विज्ञप्ति जारी गरेर हिन्दू धर्ममाथि ज्यादती नगर्न आग्रह गरेका छन् । उनले धार्मिक संहिष्णुताका लागि पनि बंगलादेशी जनतासँग अनुरोध गरेका छन् ।

‘मारिएका परिवारलाई क्षतिपूर्ति दिने, हिंसात्मक कार्यमा संलग्नलाई कारवाही गर्ने, हिंसात्मक प्रदर्शन रोक्ने, भत्काइएका मठमन्दिरको पुनःनिर्माण गर्ने र पुनः यस्ता घटना दोहरिन नदिन पर्याप्त सुरक्षा सतर्कता अपनाउनका लागि हार्दिक अपील गर्दछु’, भण्डारीले भनेका छन् ।

नेता भण्डारीले विगत केहि समयदेखि मित्रराष्ट्र बंगलादेशमा अल्पसंख्यक हिन्दू धर्मावलम्बीका विरुद्धमा भएका हिंसाजन्य र विभेदका घटनाहरू गम्भिर प्रकृतिका देखिएको जनाएका छन् ।

‘धार्मिक अतिवादी समूहले हिन्दूहरूमाथि गरेको दमन, हिंसा र हत्याका घटना गम्भिर प्रकृतिका छन्’, उनले चेतावनी शैलीमा भने, ‘हिन्दूहरूका पवित्र धार्मिकस्थल मठमन्दिरहरू भत्काउने काम हुँदै आएका छन् ।’

बंगलादेश सरकारतर्फ संकेत गर्दै उनले भने, ‘सरकारले यस्ता अतिवादी समूहलाई नियन्त्रण गर्न प्रयत्न गरे तापनि त्यो प्रभावकारी हुन सकेको छैन ।’

‘आफ्नो भूमिमा आफै सुरक्षित नहुने स्वतन्त्रतापूर्वक धर्म मान्न नपाउने र आस्थाको केन्द्र मठमन्दिर भत्काउने जस्ता अत्यन्त निन्दनीय कार्य तत्काल रोकिनु पर्दछ’, भण्डारीले भने, ‘बंगलादेश नेपालको अत्यन्त नजिकको मित्र राष्ट्र हो ।’

‘यसको अन्तर्राष्ट्रिय प्रतिष्ठा वृद्धि होस् र शान्ति, स्थायित्व र समृद्धि प्राप्त होस् भन्नेमा नेपालीहरू सदैव कामना गर्ने गर्दछन्’, कांग्रेस नेता भण्डारीले भनेका छन्, ‘पछिल्लो समयमा देखिएको हिंसा र प्रतिशोधले त्यसमा केही समस्या देखिएको छ ।’

उनले धार्मिक कट्टरपन्थीले धर्मको नाममा अल्पसंख्यकमाथि विभिन्न प्रकारका शोषण एवम् हिंसाजन्य क्रियाकलापलाई निरन्तरता दिँदै आएको भन्दै चिन्ता जनाएका छन् ।

‘धार्मिक सहिष्णुताप्रति बंगलादेशका न्यायप्रेमी जनता र बंगलादेश सरकार प्रतिवद्ध रहेको प्रष्ट छ’, उनले भने, ‘पवित्र इस्लाम धर्मले मानवता र अहिंसालाई उच्च महत्व दिँदै आएको छ ।’

‘हिन्दू धर्म संस्कृतिप्रति भएका अतिक्रमण, विभेद एवम् हिंसाको चक्र दोहरिनु राम्रो संकेत होइन’, उनले भने, ‘यस्ता अतिवादी गतिविधिको नियन्त्रण गरी बंगलादेश सबैका लागि सुरक्षित छ, सबै नागरिक सामान छन्, नागरिकका बीच कुनै द्धेष वा घृणा छैन भन्ने सन्देश दिनु जरुरी छ ।’

उनले विश्वले आपसी भाइचारा, सहअस्तित्व र सहकार्यलाई सभ्यताको प्रतीकको रुपमा लिएको समेत बताएका छन् ।

‘आपसी सदभावले विश्वलाई सुन्दर र शान्त बनाउँछ’, उनले भने, ‘अहिलेको पुस्ताले फुटको होइन जुटको र घृणाको होइन आपसी प्रेम र सद्भावको चाहना राखेको छ ।’

‘हरेक व्यक्ति स्वतन्त्रतापूर्वक आफ्ना गतिविधिहरू गर्न रुचाउँछ’, नेता भण्डारीले भने, ‘आफ्नो देशमा आफू पूर्ण सुरक्षित रहेको महशुस गर्न पाउनु हरेक नागरिकको नैसर्गिक अधिकार हो ।’

बंगलादेशमा हिन्दूधर्मालम्बीहरूमाथि मुस्लिम समुदायबाट अत्याचार भएका समाचार र तस्बिरहरू बाहिर आएका बेला कांग्रेस नेता भण्डारीले हिन्दूहरूमाथि भएका दमन, अन्याय र अत्याचार रोक्न माग गरेका छन् ।

Published : Thursday, 2021 October 21, 8:26 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया