कांग्रेस नेता बानियाँले एमालेको औकात देखाइदिए, ६ दिनपछि कुर्सीबाट गलहत्याइदिने

हेटौँडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले अष्टलक्ष्मी शाक्य र एमालेलाई मुख्यमन्त्री पदबाट राजीनामा दिएर मार्गप्रसस्त गरिदिन सुझाव दिएका छन् ।

बिहीबार हेटौँडामा बसेको बागमती प्रदेशको प्रदेश सभा (संसद)को बैठकमा मुख्यमन्त्री शाक्यविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथिको छलफलमा भाग लिँदै बानियाँले कांग्रेससहितका विपक्षी गठबन्धनको बहुमत रहेको अवस्थामा पदबाट राजीनामा दिनु बुद्धिमान हुने बताए ।

उनले एमालेभित्रको अहँकार र घमण्डले गर्दा तीन वर्षमै सरकार ढल्न लागेको बताए ।

नेता बानियाँले भने, ‘मार्ग प्रसस्त गरेको भए राम्रो हुने थियो । दशैँ मान्न हामीले दिएका हौँ । मार्ग प्रसस्त गरिदिनुस् ।’

‘विपक्षी गठबन्धनको बहुमत छ’, नेता बानियाँले भनेका छन् । उनले जनतालाई झुक्काएर, भ्रममा राखेर एमाले र उसको सरकारले आजित बनाएको समेत बताए ।

कांग्रेसलाई २५ वर्षसम्म खोज्नु पर्ने भनेर एमालेका मन्त्रीहरूले प्रदेश सभाको बैठकमा दिएका अभिव्यक्तिहरूलाई स्मरण गराउँदै नेता बानियाँले आफूभित्र मिल्न नसक्दा तीन वर्षमा सत्ता गुमाउनुपरेको बताए ।

‘कांग्रेसको धैर्यता र अनुशासनले गर्दा यो अवस्था आयो । मन्त्रीहरूले कांग्रेस पनि रहन्छ र ? भन्नु हुन्थ्यो’, बानियाँले भने, ‘त्यस बेला मैले यो सरकार तीस महिना पनि टिक्छ कि टिक्दैन भनेको थिएँ । अलिक धेरै महिना रह्यो ।’

‘अति भएपछि तपाईहरूलाई क्षति भयो । निर्वाचनमा तपाईहरूको होस् खुल्छ’, एमालेप्रति लक्षित गर्दै बानियाँले भने, ‘अहँकार, घमण्ड, झुठ र भ्रमका बारेमा जनताले थाहा पाइसकेका छन् ।’

कांग्रेस नेता बानियाँले केपी ओलीले संविधान र व्यवस्था नै भत्काउन लागेपछि गठबन्धन बनेर संविधान र व्यवस्थाको रक्षा गरिएको बताएका छन् ।

‘केपी ओलीले संविधान मिचेर यो व्यवस्था भत्काउन लागे । कांग्रेसलाई माओवादी र एमालेकै सांसदहरूले आग्रह गरेपछि व्यवस्था र संविधानका लागि लागेको हौं । गठबन्धन बनाएका हौँ’, उनले भनेका छन् ।

‘मुलुकको राजनीतिलाई स्थायित्वका लागि गठबन्धन गरिएको छ । संविधान बनाउन गठबन्धन गरेको छ’, उनले भने, ‘प्रदेशमा पनि संविधान मिच्न थाल्नुभयो । लोभ बाँडेर जनतालाई झुक्काउनुभयो । जनताले मत हाले । तपाईहरूको भ्रम र झुठ जनताले बुझेका छन् ।’

नेता बानियाँले गठबन्धन निर्वाचनसम्म निरन्तर रुपमा जाने बताएका छन् । ‘निर्वाचनमा पनि यो गठबन्धन निरन्तर जान्छ । गठबन्धनप्रति इमान्दार छौं’, उनले भनेका छन् ।

तीन वर्षभन्दा धेरै समयसम्म एमालेको सरकारले बजेट बनाए पनि जनतालाई झुक्काउने काम मात्रै गरेको बानियाँले बताएका छन् । उनले बजेट ६० प्रतिशतसम्म पनि कार्यान्वयन हुन नसकेको बताए ।

‘झुठको बजेट कार्यान्वयन भएको छैन । सुरुङ मार्ग कता गयो ? गरिवको नाना र छाना कता गयो ? जस्ता पाता कता गयो ? कागजमा के–के भयो–भयो ? कति वटा गरिवले खरको छानामा जस्ता हाले ? गरिवको छाना, खाना, नानाको कुरा गर्ने ? झुठ बोल्ने ? लोभ र भ्रमले कति दिन जनतालाई झुक्काउने ?’, प्रश्न गर्दै नेता बानियाँले एमालेको औकात देखाइदिएका छन् ।

यसैबीच, बागमती प्रदेशको प्रदेशसभा बैठक कात्तिक १० गतेसम्मका लागि स्थगित भएको छ । मुख्यमन्त्री शाक्यको विश्वासको मतमाथि मतदान नै नभएर बैठक स्थगित भएको हो ।

सभामुख सानुकुमार श्रेष्ठले अब बस्ने बैठकमा अरु प्रक्रिया अघि बढ्ने बताएका छन् । बिहीबारको बैठकमा मुख्यमन्त्री शाक्यले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमा छलफल भएको थियो ।

नेकपा (एकीकृत समाजवादी)का बागमती प्रदेश संसदीय दलका नेता राजेन्द्र पाण्डेले मुख्यमन्त्री शाक्यलाई मार्गप्रशस्त गर्न आग्रह गरेका थिए ।

माओवादी केन्द्र संसदीय दलका नेता शालीकराम जम्मर कट्टेलले मुख्य मन्त्रीमा अष्टलक्ष्मी शाक्यलाई विश्वासको मत दिन नसकिने बताएका थिए ।

उनले शाक्यलाई मुख्यमन्त्रीमा समर्थन गर्न नसकिने र मार्गप्रशस्त गर्न आग्रह गरेका छन् । गठबन्धनको बहुमत बागमती प्रदेश सभामा रहेको कट्टेलले बताएका छन् ।

एमालेले जालझेल गरेर बागमती प्रदेशमा सत्ता टिकाउन खोजेको छ । लुम्बिनी प्रदेशका तत्कालीन मुख्यमन्त्री शंकर पोखरेलले जस्तै गरेर शाक्यले मुख्यमन्त्री पद बचाउन खोजेकी छिन् । तर, शाक्य र एमालेलाई विपक्षी गठबन्धनले धुलो चटाउने योजना बनाइसकेका छन् ।

एमालेले जालझेल गरेर कात्तिक १० गतेसम्म प्रदेश सभाको बैठक स्थगित गर्न लगाएर षड्यन्त्र शुरु गरेको छ । सभामुख सानुकुमार श्रेष्ठ एमालेबाट निर्वाचित प्रदेश सांसद हुन् ।

Published : Thursday, 2021 October 21, 7:15 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया