कांग्रेसले प्रत्येक मृतकका आफन्तलाई २५ हजार दिने, ओलीको धनी पार्टी बालकोटमा चुपचाप

काठमाडौं । नेपाली कांग्रेसको बाढी, पहिरो विपद् व्यवस्थापन केन्द्रीय समन्वय समितिले बाढी, पहिरोबाट मृत्यु भएका व्यक्तिका आफन्तलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।

कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका समितिका संयोजक मोहनबहादुर बस्नेतले बुधबार विज्ञप्ति जारी गरेर प्रत्येक मृतकका आफन्तलाई २५ हजारका दरले आर्थिक सहयोग उपलब्ध गराउने जनाएका हुन् ।

‘बाढी र पहिरोमा परी मृत्यु भएका प्रति मृतक परिवारलाई रु. २५ हजार राहत स्वरुप उपलब्ध गराउने र प्राकृतिक विपत्तीको मारमा पर्नुभएका पीडितहरूको उद्धार तथा राहत कार्य निरन्तर रुपमा गर्ने कार्य गरिरहेको कुरा सम्बन्धित सबैलाई स्मरण गराउन चाहन्छु’, पूर्वमन्त्री समेत रहेका संयोजक बस्नेतले भनेका छन् ।

नेता बस्नेतले घटनास्थलहरूबाट नजिक रहेका कांग्रेसका सम्पूर्ण नेता कार्यकर्तालाई तत्काल राहत र उद्धार कार्यमा खटिन अपील पनि गरेका छन् ।

‘यस्तो किसिमको प्राकृतिक विपत्तीको मारमा पर्नुभएको सम्पूर्ण पीडितहरूको उद्धार तथा राहत कार्यमा जुट्न पीडितहरूको दिगो व्यवस्थापन लगायत भौतिक संरचना निर्माणको कार्यमा तिब्रता दिनको लागि नेपाल सरकार र नेपाल सरकारका सम्बन्धित सबै निकायहरू, सरकारी तथा गैरसरकारी संस्थाहरू, स्वदेश तथा विदेशमा रहनुभएका सहयोगी मनका धनी व्यक्तिहरूसँग समितिको तर्फबाट हार्दिक अनुरोध गर्दछु’, बस्नेतले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

प्राकृतिक विपतीमा परेकाहरूलाई नेता बस्नेतले सहयोग गर्दै आएका छन् । कोरोना महामारीदेखि बाढी र पहिरोलगायत विभिन्न विपदमा परेकालाई उनले सहयोग गर्ने गरेका छन् ।

सबैभन्दा धनी पार्टी प्रमुख विपक्ष दल नेकपा (एमाले)ले बाढी र पहिरोपीडितका लागि राहत घोषणा गरेको छैन । तर, कांग्रेसको तर्फबाट समितिका संयोजक बस्नेतले नगद राहत दिने निर्णय गरेर सरकारलाई सहयोग गरेका छन् ।

बाढी र पहिरोपीडितलाई पर्न गएको समस्या र संकटप्रति नेता बस्नेतले सानो आकारमा मलम लगाउने प्रयास गरेका छन् ।

Published : Thursday, 2021 October 21, 7:23 am

फेसबुकबाट तपाईको प्रतिक्रिया