चिया खान पौडेल हेलिकप्टर चढेर बाग्लुङ आए, देउवा र आफ्नै सरकारविरुद्ध बरबराए

काठेखोला । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले मुलुकको संविधानमाथि कार्यकारी पदमा बसेकाले खेलबाड गरेको आरोप लगाएका छन् ।

बाग्लुङ जिल्लामा नेपाली कांग्रेस काठेखोला गाउँपालिका– ५ ले बुधबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा सम्बोधन गर्दै पौडेलले प्रधानमन्त्री समेत रहेका सभापति शेरबहादुर देउवाविरुद्ध अभिव्यक्ति दिएका हुन् । पौडेलले देउवाको नाम नलिएर आलोचना गरेका छन् ।

पौडेलले मुलुक हाँक्ने जिम्मेवारी पाएका कार्यकारी पदमा रहेकाले नै लोकतन्त्रको खिलापमा अराजकता मच्चाएको बताएका छन् ।

पौडेलले एकलौटी ढंगले सत्ता सञ्चालन गर्न खोज्दा संविधानको मर्मभन्दा बाहिर गएर विगतमा मुलुकमा अधिनायकतन्त्र ल्याउने प्रयास भएको बताएका छन् ।

जनताले संघर्षबाट प्राप्त गरेको संविधानको मर्मअनुसार कार्यकारी पदमा हुँदा कोही पनि चल्न नसकेको आरोप उनले लगाएका छन् ।

कांग्रेसका नेता पौडेलले भने, ‘हामीले जनतालाई राहत दिलाउन धेरै परिवर्तन ल्यायौँ । राजतन्त्र फालेर गणतन्त्र ल्याउँदा पनि त्यसको आभास हुन पाएको छैन ।’

‘लोकतान्त्रिक भर्‍याङ चढेर माथि पुगेर अलोकतान्त्रिक काम गरेर संविधानको मर्मभन्दा बाहिर कार्यकारी पदमा नै बसेका ठूला भनौदाहरू लाग्छन्’, उनले भनेका छन् ।

पौडेलले पार्टीभित्र कुनै गुट, उप–गुट नभएको बताएका छन् । ‘यो रामचन्द्रको, यो शेरबहादुरको भनेर कसैलाई पनि ट्याग लगाउन हुँदैन’, उनले भनेका छन् ।

‘कांग्रेस लोकतन्त्रको रक्षाका लागि उभिने दल भएका कारण कुनै पनि गुटउपगुटभन्दा बाहिर रहेर लोकतन्त्रको पक्षमा सबै उभिनुपर्छ’, नेता पौडेलले भनेका छन् ।

प्रभु एयरको हेलिकप्टर चढेर बाग्लुङ आएका नेता पौडेलले देउवाको आलोचना गरेका थिए । हेलिकप्टर चढेको भाडा पौडेलले आफैले तिरेका हुन् वा नेता कार्यकर्ताले तिरिदिएका हुन् केही भनिएको छैन ।

दशैँका बेला कार्यकर्ताले पेटभरी खान नपाएका समाचार आइरहेका बेला नेता पौडेल हेलिकप्टरमा लाखौँ रुपियाँ भाडा तिरेर चिया खान बाग्लुङ आएका छन् ।

Published : Wednesday, 2021 October 20, 11:23 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया