आलोचकहरू ट्याँर–ट्याँर गरेका बेला देउवाले गरे बोल्ड निर्णय

काठमाडौं । नेपाली कांग्रेस नेतृत्वको सरकारले बेमौसमी वर्षाका कारण प्रभावितलाई राहत र क्षतिपूर्ति उपलब्ध गराउने निर्णय गरेको छ ।

सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषदको बैठकले राहत र क्षतिपूर्ति दिने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका छन् ।

परिवारमा कसैको मृत्यु भएमा प्रतिपरिवार दुई लाख, सोही परिवारका अन्य सदस्यको समेत मृत्यु भएको भएमा प्रतिव्यक्ति थप १ लाखका दरले एकद्वार नीतिबाट राहत उपलब्ध गराउने निर्णय भएको कार्कीले बताएका छन् ।

घरआवास, बाली नष्ट भएर तत्काल गुजाराका लागि खाद्यान्नसमेत नभएका परिवारलाई प्रतिव्यक्ति ५ जनासम्म सदस्य भएको परिवारलाई १५ हजार, ५ जनाभन्दा बढी परिवार भएकालाई २० हजारका दरले तत्काल नगद सहायता उपलब्ध गराउने निर्णय गरेको प्रवक्ता कार्कीले बताए ।
सरकारले घाइतेको उपचारको सम्पूर्ण व्यवस्था गर्ने निर्णय गरेको छ ।

सम्बन्धित मन्त्रालयहरूले विपदबाट क्षतिको यथासक्य छिटो प्रतिवेदन पेस गर्ने, सडक, पुल दुरसञ्चार, विमानस्थलजस्ता अत्यावश्यक संरचनाको मर्मतसम्भार गरी तत्काल सञ्चालनको व्यवस्था मिलाउने, विपद् व्यवस्थापन कोषमा आवश्यक रकम उपलब्ध गराई सञ्चालनमा ल्याउने, प्रभावित क्षेत्रमा रोग फैलन नदिने प्रबन्ध गर्ने, राहत र उद्धारमा सहयोगका लागि प्रदेश र स्थानीय तहलाई आग्रह गर्नेलगायतका निर्णय गरेको कार्कीले जानकारी दिएका छन् ।

यसैबीच, सरकारले गत तीन दिनयता अविरल वर्षाका कारण वासस्थान भत्किएर बिचल्ली भएकाहरूलाई प्रतिघर ५० हजार रुपियाँ दिने निर्णय गरेको छ ।

बुधबार सिंहदरबारमा बसेको विपद् व्यवस्थापन प्राधिकरणको बैठकले वासस्थन भत्किएर बिचल्ली भएकाहरूलाई प्रतिघर ५० हजार रुपियाँ दिने निर्णय गरेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा.अनिल पोखरेलले बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले गएको तीन दिनमा नेपालले भोग्नुपरेको घटना दुखद् भएको बताउँदै सरोकारवाला निकायहरूलाई तत्काल राहत र उद्धारमा खटिन निर्देशन दिएको बताए ।

डा.पोखरेलले बुधबार मध्याह्नसम्म ५२ जनाको निधन भएको र २० वटा घरमा पूर्ण रूपमा क्षति भएको प्रारम्भिक अनुमान रहेको जानकारी दिएका छन् ।

त्यसैगरी, प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले अविरल वर्षाका कारण प्रभावितको उद्धार, राहत र पुनर्स्थापनालाई प्रभावकारी बनाउन माग गरेको छ ।

कांग्रेसले विपद्को घडीमा प्रभावितको जीवनरक्षा, उद्धार र राहतलाई थप व्यवस्थित र प्रभावकारी बनाउन तीनै तहका सरकारलाई ध्यान केन्द्रित गर्न आग्रह गरेको हो ।

मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गरेर सम्पर्कविहीनको खोजी तीव्र बनाउन, पीडित परिवारलाई राहत उपलब्ध गराउन, बसोबासको व्यवस्था मिलाउन र घाइतेहरूलाई उपचारको व्यवस्था गर्न माग गरेका छन् ।

कांग्रेसले आफ्ना भ्रातृ संगठन र शुभेच्छुक संस्थालाई परिचालित भई उद्धार, राहत र बसोबासको व्यवस्था मिलाउने कार्यमा जुट्न पनिआग्रह गरेको छ ।

Published : Wednesday, 2021 October 20, 11:03 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया